बुधवार, माघ १ २०८२
काठमाडौँ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र विश्वप्रसिद्ध शैक्षिक प्रकाशन संस्था Oxford University Press (OUP) India बीच शिक्षामा गुणस्तर र पठन प्रवर्द्धनका लागि ऐतिहासिक समझदारी भएको छ। मंगलबार काठमाडौँमा आयोजित संयुक्त प्रेस मिटमार्फत हस्ताक्षर गरि शिक्षा सुधार, पठन संस्कृतिको प्रवर्द्धन र गुणस्तरीय शिक्षण–अध्ययन पद्धतिको विकासका लागि समझदारी भएको हो।
उक्त समझदारीले सम्पन्न समझदारीले नेपालको शैक्षिक क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरतर्फ उन्मुख गराउने महत्वपूर्ण आधार तयार गरेको हस्ताक्षरकर्ता दुई पक्षले जनाएको छ । डिजिटल विचलन, परीक्षामुखी प्रवृत्ति र सीमित अध्ययन सामग्रीका कारण विद्यार्थीहरूमा गहिरो पठन, आलोचनात्मक सोच तथा अनुसन्धानशील संस्कार कमजोर बन्दै गएको वर्तमान सन्दर्भमा यो सहकार्यलाई समयानुकूल र दूरदर्शी कदमका रूपमा लिइएको छ।
OUP India जस्तो विश्वस्तरीय प्रकाशन संस्थासँगको साझेदारीले पाठ्यपुस्तकमा सीमित अध्ययन प्रणालीबाट बाहिर निस्कँदै भाषा दक्षता, सृजनात्मकता, विश्लेषण क्षमता र जीवनोपयोगी सीप विकासमा जोड दिने अपेक्षा गरिएको छ। साथै नेपालमा भएका निजी विद्यालयहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पाठ्यसामग्री, शिक्षण विधि र शैक्षिक नवप्रवर्तनसँग प्रत्यक्ष रूपमा जोड्ने विश्वास गरिएको छ।
PABSON नेतृत्वले यो सहकार्यलाई “निजी विद्यालय क्षेत्रको दायित्व र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धताको अभिव्यक्ति” भन्दै पठन संस्कृतिको विकासले दीर्घकालमा अनुसन्धान, विज्ञान, प्रविधि, नीति निर्माण र बौद्धिक नेतृत्व निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।
OUP India सँगको यो समझदारीले नेपाली शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय अभ्याससँग समायोजन गर्नुका साथै स्थानीय आवश्यकता र सन्दर्भअनुसार ज्ञान हस्तान्तरणको नयाँ सम्भावना खोल्ने देखिन्छ। यस अर्थमा, PABSON–OUP सहकार्य केवल संस्थागत सम्झौतामा सीमित नभई नेपालको शैक्षिक भविष्य निर्माणतर्फ उन्मुख राष्ट्रिय महत्वको अभियानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।