बिहिवार, माघ २ २०८२
काठमाडौँ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागमती प्रदेशको आयोजना तथा भक्तपुर प्याब्सनको संयोजनमा ‘बागमती प्रदेश गायन तारा–२०८२’ प्रतियोगिता सम्पन्न भएको छ। बुधवार भक्तपुर पलासेस्थित काठमाडौ फ्यान भ्यालीको सभाहलमा प्याब्सन बागमतीका अध्यक्ष मुरारी प्रकाश संजेलको सभापतित्वमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा प्रथम स्थान अक्सिडेन्टल पब्लिक स्कूल, काठमाडौँका दिक्षा उप्रेतीले हासिल गरे। त्यसैगरी द्वितीय स्थान कौस्तुभ एकेडेमी, काठमाडौँका निर्भिक आचार्य, तृतीय स्थान विद्याबाणी पाठशाला, काठमाडौँका ओम कृष प्रसाइले हासिल गरे।


उक्त प्रतियोगितामा चौथो स्थान बालजागृति इ. से. स्कूल, मकवानपुरका आर्मन कार्की, पाँचौँ स्थान मोर्डन इ. स्कूल, भक्तपुरका संयोग बस्नेत र छैटौँ स्थान कोटदेवी पब्लिक इ. स्कूल, काठमाडौँकि समिपन राईले हासिल गरे।


उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका ९ जिल्लाबाट ४५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्याब्सन बागमती प्रदेशका इन्चार्ज ठकिन कुमार गुरुङ र किशोर गौतम विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने विभिन्न जिल्लाका अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो।


कार्यक्रममा मन्तव्य राख्दै बागमती प्रदेश अध्यक्ष तथा कार्यक्रमका सभापति मुरारी प्रकाश संजेलले जिल्लाबाट छनोट भएर आएका सबै विद्यार्थीहरू विजेता भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितामा निरन्तर सहभागी भई आफ्ना प्रतिभा प्रस्फुटन गर्न आग्रह गर्नुभयो। उहाँले बागमती प्रदेश प्याब्सनले भविष्यमा भलिबल प्रतियोगिता आयोजना गरिने र त्यसमा विजयी हुने विद्यार्थीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी पनि दिनुभयो।

गायन प्रतियोगितामा बिशिस्ट अतिथि तथा प्याब्सनका उपाध्यक्ष थकिन कुमार गुरुङले यस्ता गायन प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै लुकेर रहेको प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने। बताउनुभयो। उहाँले संगीतले भावनात्मक विकास, अनुशासन, एकाग्रता र सृजनात्मक सोचलाई मजबुत बनाउनुको साथै नेतृत्व क्षमता, सार्वजनिक बोल्ने सीप र प्रतिस्पर्धी भावनाको विकास गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

उक्त कार्यक्रम प्रदेश सचिव जीवन पन्थीले सञ्चालन गर्नुभएको थियो। भने स्वागत मन्तव्य प्याब्सन बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानुराजा कार्कीले राख्नुभएको थियो ।





