शनिवार, माघ ४ २०८२
काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा स्थायी पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ। आयोगले मिति २०८२ साल माघ ३ गते प्रकाशित सूचनाअनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट अनलाइन माध्यमबाट दरखास्त आह्वान गरेको हो।
नेपाल सरकार अन्तर्गतका सामुदायिक विद्यालयमा रिक्त रहेका माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदहरू खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत पूर्ति गरिने आयोगले जनाएको छ।
अनलाइन दरखास्त दिने अन्तिम मिति २०८२ साल फागुन ३ गते राति ११:५९ बजेसम्म तोकिएको छ। दोब्बर दस्तुरसहित दरखास्त दिने म्याद फागुन १० गते राति ११:५९ बजेसम्म रहेको छ। उम्मेद्वारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। अर्थात् २०६४ फागुन ३ गतेसम्म जन्म भएका उम्मेद्वार मात्र योग्य हुनेछन्। तर, बहालवाला स्थायी शिक्षकको हकमा उमेरको हद लाग्ने छैन।
दरखास्त अनिवार्य रूपमा शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन प्रणाली https://online.tsc.gov.np/ मार्फत पेस गर्नुपर्नेछ। दरखास्त फाराम submit गर्नुअघि सबै विवरण र कागजात यकिन गर्नुपर्ने र एकपटक शुल्क भुक्तानी भएपछि कुनै पनि विवरण परिवर्तन गर्न नसकिने आयोगले जनाएको छ।
आयोगका अनुसार परीक्षा दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा सामान्य र विषयगत गरी लिखित परीक्षा लिइनेछ भने दोस्रो चरणमा अन्तर्वार्ता हुनेछ। सामान्य लिखित परीक्षा मिति २०८३ साल वैशाख ५ गते शनिबार अपरान्ह १ बजे सञ्चालन हुने छ। विषयगत लिखित परीक्षा र अन्तर्वार्ताको मिति भने सामान्य परीक्षाको नतिजा प्रकाशनपछि तोकिने छ।
परीक्षा केन्द्र कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, वागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा तोकिएको छ। परीक्षार्थीको सङ्ख्याअनुसार अन्य जिल्लामा समेत केन्द्र थप गर्न सकिने आयोगले जनाएको छ।
