सोमवार, माघ ६ २०८२
काठमाडौँ । काठमाडौँ बर्नहार्ट कलेजको वार्षिक खेलकुद महोत्सव ‘BernHardt Annual Sports Meet–2082’ आइतवारदेखि औपचारिक रूपमा सुरु भएको छ। बाफलस्थित कलेज परिसरमा आयोजित विशेष समारोहका बीच कलेज प्रशासन र बर्नहार्ट इभेन्ट क्लबको संयुक्त आयोजनामा स्पोर्ट्स मिटको उद्घाटन गरिएको हो।

स्पोर्ट्स मिट २०८२ अन्तर्गत बास्केटबल, फुटसल, ई–फुटबल, क्रिकेट, टेबल टेनिस, चेससहित पब्जी, फ्री फायर, भ्यालोरन्ट जस्ता ई–स्पोर्ट्स खेलहरू सञ्चालन हुने कलेजले जनाएको छ।

कार्यक्रमको उद्घाटन कलेजका क्याम्पस प्रमुख सहदेव सिग्देल र प्रशासनिक निर्देशक रामचन्द्र थापाले संयुक्त रूपमा खेलकुद सामग्री हस्तान्तरण गर्दै गर्नुभएको थियो। सो अवसरमा स्पोर्ट्स मिटको ब्यानर अनावरण गर्दै बेलुन उडाइएको थियो।

उद्घाटन समारोहमा कार्यक्रम संयोजकहरू मधु रिजाल, रामबाबु महतो, अभिमन्यु यादव, इभेन्ट क्लब तथा आइटी क्लबका सदस्यहरू, शिक्षक तथा ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कलेज प्रशासनका अनुसार शैक्षिक गतिविधिसँगै खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक विकास, अनुशासन, सहकार्य भावना र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले वार्षिक रूपमा स्पोर्ट्स मिट आयोजना गरिँदै आएको छ।


