बुधवार, माघ ८ २०८२
काठमाडौँ । गुल्मेली शैक्षिक सञ्जाल, काठमाडौँको आयोजनामा एसईई परीक्षालाई लक्षित गर्दै ‘SEE Boost-Up Seminar – 2082 (Exam Strategy & Confidence Building)’ सफलतापूर्वक सम्पन्न भएको छ।

“A Shared Journey of Education and Fellowship” भन्ने नारासहित भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजित सेमिनारमा गुल्मेली शैक्षिक सञ्जालमा आबद्ध ११ विद्यालयका करिब ६०४ जना कक्षा १० का विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सेमिनारमा गणित, विज्ञान तथा सामाजिक अध्ययन विषयका विज्ञ सहजकर्ताहरूले एसईई परीक्षाको प्रभावकारी तयारी रणनीति, उत्तर लेखन शैली, समय व्यवस्थापन तथा उच्च अंक प्राप्त गर्ने उपायहरूबारे विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो।

गणित विषयको सहजकर्ताका रूपमा वेदान्त पब्लिकेसन्सका प्रमुख गणित सहजकर्ता हुकुम प्रसाद दाहलले “म्याथेम्याटिक्स कसरी पास गर्ने?”, “गणितलाई साथी बनाउनुस्”, “गणितलाई माया गर्नुस्” र “गणित पढ्न हामी सबै सक्षम छौं” भन्ने प्रेरणादायी सन्देशसहित विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अध्ययन गर्न आग्रह गर्नुभयो। उहाँले नियमित अभ्यास र सकारात्मक सोचले गणितलाई सजिलो बनाउन सकिने बताउनुभयो।

त्यस्तै विज्ञान विषयको सहजकर्ताका रूपमा चिन्तामणि पन्थीले अवधारणात्मक बुझाइ, प्रयोगात्मक सोच र परीक्षामा सफल हुने रणनीतिबारे मार्गदर्शन गर्नुभएको थियो।

त्यसैगरी सामाजिक बिषयको सहजकर्ताको रुपमा निराजन पौडेलले विद्यार्थीहरुलाई सामाजिक बिषयको कठिनाई र पढ्ने तथा लेखन शैली बारे मार्गदर्शन गर्नुभयो।

उक्त सेमिनारमा प्रमुख अतिथिका रूपमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष ठकिन कुमार गुरुङले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष आरबी अधिकारी, महानगर अध्यक्ष गगनसिं ऐर, काठमाडौँ मोडेल कलेजका धुर्व भट्टराई लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै जीवनमा सफलता प्राप्त गर्न निरन्तर मिहिनेत, अनुशासन र आत्मविश्वास अत्यावश्यक हुने बताउनुभयो।

कार्यक्रमका संयोजक तथा गुल्मेली शैक्षिक सञ्जाल, काठमाडौँका उपाध्यक्ष रवि भण्डारीले स्वागत मन्तव्य दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै विद्यालय, शिक्षक, सहजकर्ता तथा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

उक्त कार्यक्रम शैक्षिक मञ्चका अध्यक्ष रमेश पन्थीको सभापतित्वमा सम्पन्न भएको थियो। भने औपचारिक समारोह मञ्चका सचिव कमल ज्ञवालीले सञ्चालन गर्नुभएको थियो। उक्त सेमिनारमा विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

