आइतवार, माघ १२ २०८२
काठमाडौँ, माघ ११। काठमाडौँ महानगरपालिका– १३ डल्लुस्थित माउण्ट ग्लोरी इङ्लिस बोर्डिङ स्कुलले ‘विज्ञान, कला तथा शिल्प प्रदर्शनी–२०८२’ भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार विद्यालय परिसरमा आयोजना गरिएको प्रदर्शनीमा आधारभूत तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले तयार पारेका विविध सिर्जनात्मक सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए।

प्रदर्शनीमा अभिभावक, सामाजिक व्यक्तित्व तथा स्थानीय स्थानीय शैक्षिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

विद्यार्थीहरूले स्थानीय स्रोतसाधनको प्रयोग गरी तयार गरिएका कला तथा शिल्प सामग्री, पेन्टिङ, प्रोजेक्ट वर्क , शैक्षिक सामग्री तथा डकुमेन्ट्री, सोलार सिस्टम, प्रकाश परावर्तन (Reflection of Light), वातावरण संरक्षण, ऊर्जा स्रोत विकासजस्ता विज्ञान तथा गणितसम्बन्धी परियोजनाहरू पनि प्रदर्सन गरेका थिए।

विद्यालय संस्थापक प्राचार्य, गोपाल पौडेल, शिक्षक तथा अभिभावकहरूले प्रदर्शनीमा राखिएका परियोजनाहरू अवलोकन गर्नुभएको थियो । साथै विद्यार्थीहरूले आफुले बनाएका शैक्षिक सामाग्री तथा सिर्जनाबारे ब्याख्या गरेका थिए।

प्राचार्य गोपाल आचार्यका अनुसार कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यस्तो प्रदर्शनी आयोजना गरिएको हो। विद्यार्थीका सिर्जनाबाट नयाँ–नयाँ आविष्कार सम्भव छ भन्ने कुरा यस प्रदर्शनीले प्रमाणित गरेको उहाँले बताउनुभयो। यस्ता प्रदर्शनीले विद्यार्थीको अन्तरनिहित क्षमता पहिचान गर्न सहयोग पुग्ने र अभिभावकलाई पनि आफ्ना सन्तानको सिर्जनात्मक गतिविधि नजिकबाट हेर्ने अवसर मिल्ने आचार्यको भनाई छ । विज्ञान, कला तथा शिल्प प्रदर्शनी विद्यार्थीका लागि ‘एक्सपोजर’को राम्रो माध्यम बन्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।

शिक्षण–सिकाइ प्रक्रियामा आधुनिक प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराउँदै विद्यार्थीमा सिर्जनशीलता विकास गर्ने तथा भविष्यमा राष्ट्रका लागि सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको विद्यालयले जनाएको छ। प्रदर्शनीमा सहभागी अभिभावकहरूले आफ्ना छोराछोरीले तयार पारेका सामग्री देखेर खुसी व्यक्त गरेका थिए।

यस अवसरमा विद्यालयका प्रिन्सिपल इन्द्रकुमार रानाले प्रदर्शनीले विद्यार्थीमा अनुसन्धान, नवप्रवर्तन र आत्मविश्वास बढाउने महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। “कक्षा कोठामा पढेको विषयलाई व्यवहारमा उतारेर देखाउन पाउनु विद्यार्थीका लागि ठूलो सिकाइ हो। यस्ता प्रदर्शनीले उनीहरूको प्रस्तुति सीप, सोच्ने क्षमता र सिर्जनशीलता अझ मजबुत बनाउँछ,” उहाँले भन्नुभयो।

विद्यार्थीले आफ्नै प्रयास र कल्पनाशक्तिबाट तयार पारेका परियोजनाले भविष्यमा वैज्ञानिक, इन्जिनियर, कलाकार तथा सक्षम नागरिक उत्पादन गर्न विद्यालय प्रतिबद्ध रहेको प्रिन्सिपल रानाको भनाइ थियो। साथै अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यले शैक्षिक वातावरण अझ सुदृढ बन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।


