शुक्रवार, माघ १७ २०८२
काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) काठमाडौँको आयोजनामा तथा नगर प्याब्सन कीर्तिपुरको संयोजनमा काठमाडौँ जिल्लाव्यापी “PABSON Grand Quiz Championship–2082” शुरु भएको छ। माघ १६ र १७ गते कीर्तिपुरस्थित पुष्पसदन सेकेन्डरी स्कुलमा आयोजना हुने उक्त क्विज च्याम्पियनसिप शुरु भएको हो।

उद्घाटन समारोहमा प्याब्सन केन्द्रका पुर्व कोषाध्यक्ष तथा सल्लाहकार तथा पुष्पसदन स्कुलका फाउन्डर प्रिन्सिपल महेश श्रेष्ठ, काठमाडौँ जिल्ला वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, उपाध्यक्ष सुर्य बहादुर भण्डारी, आरबि अधिकारी, धनबहादुर पुन, काठमाडौँ महानगर प्याब्सन अध्यक्ष गगन सिंह ऐर, नागार्जुन नगरपालिका अध्यक्ष वासुदेव घिमिरे, चन्द्रागिरी अध्यक्ष सरोज महर्जन, तारकेश्वर प्रमुख गोपाल बुढाथोकी, गोकर्णेश्वर प्रमुख सुदिप अधिकारी, प्याब्सन काठमाडौँ जिल्ला सहसचिव सौर्य भण्डारी, डिएन सिवाकोटी, सह - कोषाध्यक्ष अनिल सुब्बा लगाएत प्याब्सन जिल्ला कार्यसमिति सदस्य, विभिन्न नगर पदाधिकारी तथा सहभागी स्कुलका प्रिन्सिपल तथा शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो। उक्त समारोहमा नागार्जुन नगरपालिका शिक्षा बिभाग शाखा प्रमुख बिमल निरौलाको समेत उपस्थिति रहेको थियो।

प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टको सभापतित्व तथा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु भयो। उक्त प्रतियोगितामा नगर तथा महानगरस्तरबाट छनोट भई आएका जम्मा ३६ विद्यालयका टिमहरू सहभागी रहेको इसिए बिभाग प्रमुख तथा उपाध्यक्ष धनबहादुर पुनले बताउनुभयो ।

क्विज च्याम्पियनसीप उद्घाटन समारोह भोलिसम्म चल्ने छ।
क्विज च्याम्पियनसीपको उद्घाटन समारोहमा बोल्दै प्याब्सन जिल्ला अध्यक्ष नवराज भट्टले पछिल्लो समय विद्यार्थीहरूमा बौद्धिक क्षमता र सामान्य ज्ञानप्रतिको रुचि घट्दै गएको सन्दर्भमा समसामयिक विषय, इतिहास, भूगोल, विज्ञानलगायतका विषयमा रुचि अभिवृद्धि गराउने, पठन संस्कृतिको विकास गर्ने तथा प्रतिस्पर्धात्मक आत्मविश्वास बढाउने लक्ष्य रहेको बताउनुभयो । साथै लोकसेवा आयोगलगायत सरकारी सेवामा प्रवेशका लागि समेत यस्ता बौद्धिक गतिविधि अत्यन्तै उपयोगी हुने भट्टको भनाइ थियो।

उक्त समारोहमा बोल्दै प्रमुख अतिथि तथा कीर्तिपुर नगरपालिका मेयर कृष्णमान डंगोलले निजि विद्यालयले नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले निजि र सामुदायिक विद्यालय बीच विभेद नगर्ने बताउनुभयो। साथै क्विज च्याम्पियनसिपमा सहभागी विद्यार्थीहरुलाई अनुशासित भएर खेल्न सुझाव दिनुभयो। उहाँले सहभागी विद्यार्थीहरुलाई शुभकामना समेत दिनुभयो।

उक्त क्विज च्याम्पियनसीप उद्घाटन समारोह प्याब्सन काठमाडौ जिल्ला सचीव कृष्ण भण्डारीले उद्घाटन गर्नुभयो, साथै कीर्तिपुर नगरपालिका प्याब्सनका अध्यक्ष रबि भण्डारीले स्वागत मन्तव्य दिनुभयो।

प्याब्सनको शैक्षिक क्यालेन्डर अन्तर्गत समावेश यस प्रतियोगितामा प्रारम्भिक चरण विभिन्न नगर/महानगरमा सम्पन्न भई उत्कृष्ट टिमहरू मात्र अन्तिम चरणका लागि छनोट भएका थिए। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको अन्तिम दिन उत्कृष्ट ६ टिमलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।


प्याब्सनले यस किसिमका शैक्षिक तथा बौद्धिक गतिविधिमार्फत विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामुहिक भावना, आत्मविश्वास र अध्ययनप्रतिको रुचि अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।




