शनिवार, माघ १८ २०८२
काठमाडौँ । नागार्जुन नगरपालिका प्याब्सनद्वारा आयोजित बिएलइ क्विज कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। शुक्रवार रानिवनस्थित काठमाडौँ भ्याली स्कुलमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नगर क्षेत्रभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको थियो।

क्विज कन्टेस्टमा प्रथम स्थान निक (NIC) एकेडेमी, द्वितीय स्थान सभ्यता स्कुल, र तृतीय स्थान ज्योती एकेडेमी हासिल गरेका छन्। त्यसैगरी चौथो स्थान बाटिका स्कुल, पाँचौँ स्थान द एक्सेल पब्लिक स्कुल र छैटौँ स्थान रेडियन्ट स्कुलले हासिल गरेका छन्।


प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रम नागार्जुन नगरपालिका प्याब्सनका अध्यक्ष वासुदेव घिमिरेको सभापतित्व तथा प्याब्सन काठमाडौँ जिला अध्यक्ष नवराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा अतिथि प्याब्सन नागार्जुनका उपाध्यक्ष डिबी ढकाल कोषाध्यक्ष हिरालाल सुवेदी, प्याब्सन काठमाडौँ जिल्ला सदस्य सुगन्धराज रेग्मी लगाएत विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन नागार्जुन नगर प्याब्सन सचीव प्रकाशमान शाहीले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको स्वागत मन्तव्य काठमाडौं भ्याली स्कुलकी प्रिन्सिपल अन्जना श्रेष्ठले राख्नुभएको थियो। साथै, कार्यक्रममा प्याब्सन काठमाडौँ जिल्ला अध्यक्षले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले यस्ता शैक्षिक प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक विकास, आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

