मंगलवार, माघ २१ २०८२
काठमाडौँ, माघ २० — काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीको दैनिक हाजिरी व्यवस्थापनका लागि आफ्नै डिजिटल प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएको छ।
माघ १३ गते महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ७ दिनभित्र विद्यालयमा डिजिटल हाजिरी प्रणाली लागू गर्न निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले संयुक्त रूपमा महानगरपालिकाको आन्तरिक जनशक्तिमार्फत उक्त प्रणाली विकास गरेका हुन्। सो प्रणालीमार्फत अब महानगरपालिकाका कर्मचारीसँगै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरी एकीकृत रूपमा अभिलेख हुनेछ।

यस प्रणाली अन्तर्गत सबै सामुदायिक विद्यालयलाई युजरनेम र पासवर्ड प्रदान गरिसकिएको महानगरपालिकाले जनाएको छ। हाल जनकल्याण माध्यमिक विद्यालय, टंगाल माध्यमिक विद्यालय, गीतामाता माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, तरुण माध्यमिक विद्यालय, रत्नराज्य माध्यमिक विद्यालय, पद्मोदय माध्यमिक विद्यालय, जनपथ माध्यमिक विद्यालय तथा विश्व निकेतन माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीको नाम डाटा इन्ट्री तथा फेस रिडिङ प्रक्रिया सम्पन्न भइसकेको छ।

शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीका अनुसार विद्यार्थीहरूको विवरण प्रविष्ट गर्ने र फेस रिडिङ प्रक्रिया भने हाल सञ्चालनमा रहेको छ। यो प्रणाली विकाससँगै महानगरपालिकाको बाह्य परामर्शदातामाथिको निर्भरता घट्दै गएको सूचना प्रविधि विभागले जनाएको छ।
प्रणाली सञ्चालनका लागि विद्यालयको लेखा तथा प्रशासन हेर्ने कर्मचारीहरूलाई तालिमसमेत प्रदान गरिएको छ। तालिमपछि डाटा इन्ट्री, अद्यावधिक तथा प्रतिवेदन तयार गर्ने काम विद्यालयबाटै हुनेछ भने रियल टाइम सूचना महानगरपालिकाको केन्द्रीय प्रणालीबाट निगरानी गर्न सकिने व्यवस्था गरिएको छ।

सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भन्नुभयो, “महानगरपालिकाको आफ्नै प्रणाली विकास हुनु सबैभन्दा ठूलो उपलब्धि हो। अब सेवाका लागि परामर्शदातामाथि निर्भर रहनु पर्दैन, तथ्याङ्क प्राप्त गर्न पनि अरूको भर पर्नु पर्दैन।” प्रणालीमा प्रविष्ट तथ्याङ्कलाई आगामी दिनमा सब–नेशनल ट्रेजरी रेगुलेटोरी एप्लिकेसन (सूत्र) सँग आवद्ध गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालले जानकारी दिनुभयो। उहाँका अनुसार यस प्रणालीले दिवा खाजा लगायत विद्यार्थी सङ्ख्याका आधारमा प्रदान गरिने अनुदान वितरणका लागि आवश्यक आधार तयार गर्नेछ।
यो प्रणाली व्यक्तिगत प्रोफाइलमा आधारित हुनेछ, जसबाट विद्यार्थीले आफ्नै विवरण हेर्न सक्नेछन्। साथै, प्रणालीलाई थप विकास गर्दै विद्यार्थी अनुपस्थित भएको सूचना अभिभावकलाई पठाउने व्यवस्था पनि गरिने महानगरपालिकाले जनाएको छ।