बिहिवार, माघ २३ २०८२
माघ २२/ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विदेशी विद्यार्थी आकर्षण गर्ने उद्देश्यले ‘त्रिविमा १ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी’ शीर्षकमा नीतिगत छलफल सम्पन्न भएको छ। त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको आयोजनामा भएको उक्त छलफलले अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी दीर्घकालीन नीति निर्माणमा जोड दिएको छ।
छलफलमा त्रिविको भौतिक पूर्वाधार सुधार, क्रेडिट ट्रान्सफरको प्रभावकारी कार्यान्वयन, अन्तर्राष्ट्रिय सम्पर्क विस्तार, पाठ्यक्रम परिमार्जन, शैक्षिक क्यालेन्डर कार्यान्वयन, शिक्षक तथा कर्मचारीको क्षमता विकास, झन्झटमुक्त भर्ना प्रक्रिया, कक्षा सञ्चालनको अनुकूल वातावरण, अन्तर्राष्ट्रिय छात्रावास तथा क्यान्टिन व्यवस्था, चुस्त सूचना प्रणाली र विद्यार्थी सहयोग प्रणाली (Student Support System) निर्माणलगायतका विषय समेटेर नीति तयार गर्ने सहमति भएको छ।
कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्यालले नेपालको अनुकूल मौसम, विभिन्न देशहरूसँगको सकारात्मक सम्बन्ध र अन्तर्राष्ट्रिय छविका कारण विदेशी विद्यार्थीहरूको चासो बढेको उल्लेख गर्नुभयो। भौतिक पूर्वाधार, सुरक्षा र भू–राजनीतिक संवेदनशीलताका पक्षलाई ध्यानमा राखी डिन कार्यालयहरूलाई संलग्न गराएर विदेशी विद्यार्थी भर्ना गर्ने धारणा उहाँले व्यक्त गर्नुभयो।
त्यसैगरी, शिक्षाध्यक्ष **प्रा.डा. खड्ग के.सी.**ले विदेशी विद्यार्थीका लागि विश्वविद्यालय र क्याम्पसहरूमा सुरक्षाको अनुभूति, विश्वसनीय शैक्षिक वातावरण, सुसंगठित प्रशासनिक संयन्त्र आवश्यक रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रलाई भिसासम्बन्धी अधिकार दिई सबै निकायको सहकार्यमा सचेत नीतिगत तयारी गरेर मात्र अन्तर्राष्ट्रिय विद्यार्थी लिन उपयुक्त हुने उहाँको भनाइ थियो। रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले अन्तर्राष्ट्रिय विद्यार्थी आगमनले देशको अर्थतन्त्रमा सकारात्मक योगदान, शैक्षिक तथा सांस्कृतिक आदान–प्रदान र समग्र शैक्षिक गुणस्तर सुधार हुने विश्वास व्यक्त गर्नुभयो।
छलफलमा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका डिन डा. किशोरचन्द्र दाहाल, इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. सुसिलबहादुर बज्राचार्य, बनविज्ञान अध्ययन संस्थानका डिन डा. ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहनराज शर्मा, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. शंकरप्रसाद खनाल, शिक्षाशास्त्र संकायका डिन प्रा.डा. वेदराज आचार्य, मानविकी तथा सामाजिकशास्त्र संकायका निमित्त डिन डा. बामदेव अधिकारी, कानून संकायका डिन प्रा.डा. दिनानाथ पराजुली र व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेले आ–आफ्ना संकाय तथा अध्ययन संस्थानका शैक्षिक कार्यक्रम, विद्यार्थी संख्या, आर्थिक तथा प्रशासनिक अवस्था र अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षणका सम्भावनाबारे प्रस्तुति दिनुभयो।
कार्यक्रमको समापनमा त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. विष्णुप्रसाद पाण्डेले सबै सरोकारवाला निकायसँगको परामर्शमा आवश्यक नीतिगत निर्णय गर्दै त्रिविलाई थप अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभयो।