शनिवार, माघ २५ २०८२
हेटौंडा । विज्ञान शिक्षक समाज नेपाल (STAN) मकवानपुरको आयोजनामा विज्ञान शिक्षकहरूका लागि “आर्टिफिसियल इन्टेलिजेन्स (AI) सम्बन्धी एकदिने तालिम” सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवि माध्यमिक विद्यालयमा आयोजित तालिममा जिल्लाभरका ५८ जना विज्ञान शिक्षकहरूको सहभागिता रहेको थियो। साथै जिल्लामा क्रियाशील ९ वटा सञ्चारमाध्यमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रम विज्ञान शिक्षक समाज नेपाल (STAN) मकवानपुरका अध्यक्ष भरत पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरि उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा भुटनदेवि एल्मुनाई एसोसिएसनका अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष विष्णुगोपाल महर्जन, भुटनदेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे र सहप्राध्यापक बेदराज कोइराला रहनुभएको थियो।
कार्यक्रममा STAN मकवानपुरका सल्लाहकार विनोद गुप्ता, केशव न्यौपाने, STAN हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष भुपेन्द्र प्रसाद यादव, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजेश गुप्ता, रियल युनिक कम्प्युटर सेन्टर हेटौंडाका सञ्चालक तथा प्रशिक्षक श्रवण कुमार श्रेष्ठ तथा आइटी रिसर्चकर्ता नवीन गन्ताङ लामा लगायतको सहभागिता रहेको थियो।
तालिममा सहभागीहरूको तर्फबाट कौशल्या दहाल र कुलचन्द्र अधिकारीले मन्तव्य व्यक्त गर्दै प्रविधिमैत्री तालिमहरूले शिक्षण–सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी र व्यवहारिक बनाउने उल्लेख गर्नुभयो। कार्यक्रममा स्वागत मन्तव्य STAN मकवानपुरका उपाध्यक्ष सुवास खनालले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव जीवन तिमल्सिनाले गर्नुभएको थियो।
प्रमुख अतिथि सुदिप गिरिले आर्टिफिसियल इन्टेलिजेन्स आजको शिक्षण प्रणालीको अभिन्न अङ्ग बन्दै गएको उल्लेख गर्दै शिक्षकहरू प्रविधिसँग अद्यावधिक भई विद्यार्थीलाई प्रविधिमैत्री र व्यवहारिक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो। यस्ता तालिमहरूले शिक्षकहरूको क्षमता अभिवृद्धि भई गुणस्तरीय शिक्षामा योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष भरत पोखरेलले विज्ञान शिक्षक समाज नेपाल मकवानपुरले शिक्षकहरूको पेशागत विकास, क्षमता अभिवृद्धि तथा प्रविधिमैत्री शिक्षाको विस्तारका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। आगामी दिनमा अझ प्रभावकारी तालिमहरू सञ्चालन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
तालिममा प्रशिक्षक श्रवण कुमार श्रेष्ठ र आइटी रिसर्चकर्ता नवीन गन्ताङ लामाले आर्टिफिसियल इन्टेलिजेन्सको आधारभूत अवधारणा, शिक्षणमा यसको प्रयोग र भविष्यका सम्भावनाबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। उक्त तालिम भुटनदेवि एल्मुनाई एसोसिएसन र रियल युनिक कम्प्युटर सेन्टर हेटौंडाको सौजन्यमा सम्पन्न भएको हो।