आइतवार, माघ २६ २०८२
काठमाडौं । नागार्जुन नगरपालिका–०४, सितापाइला स्थित ज्योति एकेडमी विद्यालयमा अभिभावकहरूका लागि “असल अभिभावकत्वका अवसर र चुनौती” विषयक अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

शनिबार आयोजित कार्यक्रममा विशिष्ट उत्प्रेरक वक्ता डा. रविन कटवालले अभिभावक शिक्षा प्रस्तुत गर्दै असल अभिभावकले बालबालिकाको शैक्षिक, मानसिक र नैतिक विकासमा खेल्नुपर्ने भूमिकाबारे तर्क र जीवन्त उदाहरणसहित आफ्ना विचार राख्नुभयो। उहाँले अभिभावकत्व आजको समयअनुसार थप जिम्मेवार, सचेत र सहकार्यपूर्ण हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा करिब ३५० जना अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी अभिभावकहरूले कार्यक्रम ज्ञानवर्धक, व्यवहारिक र समयसापेक्ष भएको प्रतिक्रिया दिएका थिए।

सो अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्द पगेनीले विद्यालयले सञ्चालन गर्दै आएका शैक्षिक, सह–पाठ्यक्रम तथा विद्यार्थी केन्द्रित विविध गतिविधिहरूबारे प्रकाश पार्नुभयो। उहाँले आगामी दिनहरूमा पनि अझ सशक्त, आधुनिक र विद्यार्थीमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा ज्योति एकेडमीले शैक्षिक उपलब्धिका हिसाबले पनि उल्लेखनीय प्रगति गरेको जानकारी गराइएको थियो। विद्यालयले गत वर्षको SEE परीक्षामा ४.०० जीपीएसहित उत्कृष्ट नतिजा हासिल गरेको साथै नागार्जुन नगरस्तरीय परीक्षामा ३.९५ जीपीए प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको उल्लेख गरिएको थियो।
विद्यालयले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई सुदृढ गर्दै गुणस्तरीय शिक्षामा निरन्तर अग्रसर रहने प्रतिबद्धता दोहोर्याएको छ।