सोमवार, माघ २७ २०८२
काठमाडौँ, माघ २६ । सामुदायिक विद्यालयको सौन्दर्य, स्वच्छता र सिकाइ वातावरण सुधार गर्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यालय निरीक्षक, स्रोत शिक्षक, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई एकै ठाउँमा राखेर अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। वडा नं. १ देखि १५ र वडा नं. १६ देखि ३२ सम्मका विद्यालयलाई दुई समूहमा विभाजन गरी गरिएको अभिमुखीकरणमा २४५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयलाई स्वच्छ, हरियाली र कलात्मक बनाउने साझा कार्ययोजना तयार गर्न सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो। महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ देखि कार्यान्वयनमा ल्याएको स्वर्णिम योजना ‘सुन्दर विद्यालय’ अन्तर्गत यस वर्षका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
विनियोजित बजेटमध्ये विद्यार्थीमार्फत कक्षा कोठा सजावटका लागि सामग्री खरिद अनुदानमा ४९ लाख रुपैयाँ, विद्यालय हाताको सौन्दर्य अभिवृद्धिका लागि ८५ लाख रुपैयाँ तथा हरियाली प्रवर्धन र फोहर व्यवस्थापनका लागि ३ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।
अभिमुखीकरण कार्यक्रममा शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले योजनाको सफल कार्यान्वयनका लागि सरोकारवालासँग प्रत्यक्ष संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “जसका लागि कार्यक्रम ल्याइएको हो, कार्यान्वयन गर्ने पनि उनीहरू नै हुन्। त्यसैले शिक्षक, अभिभावक र विद्यार्थीलाई एकै ठाउँमा राखेर योजना बनाइएको हो।” सामुदायिक विद्यालयमा सुशासनयुक्त प्रशासन र पारदर्शी वित्तीय व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उहाँले व्यावहारिक, प्रयोगात्मक र समयानुकूल शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
महानगरपालिकाले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि गरेको लगानीबाट ठोस प्रतिफलको अपेक्षा गरेको छ। शिक्षा विभागका प्रमुख नमराज ढकालले भन्नुभयो, “विद्यालयमा सिकेको स्वच्छताको अभ्यासले जीवनभर सकारात्मक प्रभाव पार्छ। यो पनि सिकाइको महत्वपूर्ण चरण हो।”
अभिमुखीकरणमा शिक्षा अधिकृत केशव ज्ञवालीले शिक्षक, अभिभावक, स्रोत शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया गराउँदै साझा बुझाइ र फरक दृष्टिकोण पहिचान गराउनुभएको थियो। सहभागीहरूले ‘सुन्दर विद्यालय’ परियोजनालाई नयाँ, जीवन उपयोगी र आवश्यक भएकोमा एकमत जनाए पनि कार्यान्वयन विधि र सहभागिताका स्वरूपमा विविध सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रम प्रभावकारी बनाउन विद्यालयहरूमा ‘बुक फ्री फ्राइडे’ अन्तर्गत बालबालिका र वातावरण (वाबा) उपसमूह गठन गरिएको छ। उपसमूहलाई मार्गदर्शन गर्न फोकल शिक्षक तोकिएको छ। श्रमप्रतिको सम्मान, सामाजिक उत्तरदायित्व, पर्यावरण संरक्षण र स्वच्छतासम्बन्धी जीवनोपयोगी सिप विकास गर्ने उद्देश्यले यो संरचना तयार गरिएको हो।
परियोजनाका फोकल पर्सन शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार विद्यालय हाता, कक्षा कोठा, शौचालय सरसफाइ, फुलबारी तथा औषधिजन्य जडीबुटी रोपण, गमला व्यवस्थापन, फोहरको वर्गीकरण, धुलोरहित वातावरण निर्माण, भित्ते चित्र र प्रेरणादायी सन्देश लेखनजस्ता कार्यमा विद्यार्थीले नेतृत्व गर्नेछन् भने आवश्यक सामग्री विद्यालयले उपलब्ध गराउनेछ।
वरिष्ठ अधिकृत शुशिल सुवेदीले यस्ता अभिमुखीकरण कार्यक्रमले योजना कार्यान्वयन सहज बनाउने बताउँदै भन्नुभयो, “सरसफाइ संस्कार हो। विद्यालय उमेरमै यसको अनुभूति गराउनु ठूलो उपलब्धि हो।” महानगरपालिकाको यो पहलले सामुदायिक विद्यालयलाई केवल पढाइको केन्द्र मात्र नभई स्वच्छ, हरियाली र सिर्जनशील शिक्षाको नमुना स्थलका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।