बुधवार, माघ २९ २०८२
काठमाडौँ, माघ २८ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आधारभूत तहको प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ। पद्मकन्या स्रोत केन्द्रमा आयोजित कार्यशालामा ६ विषयका ४–४ जना गरी २४ जनालाई प्रशिक्षकका रूपमा तयार गरिएको हो।
नेपाली, गणित, अंग्रेजी, सामाजिक, विज्ञान तथा प्रविधि र स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक विषयका प्रशिक्षक उत्पादन गरिएको महानगरले जनाएको छ। ती प्रशिक्षकहरूले आगामी चरणमा प्रत्येक विषयका ९० जना शिक्षकलाई तालिम प्रदान गर्नेछन्।
यस कार्यक्रममार्फत कुल ५४० जना शिक्षक प्रश्नपत्र निर्माण र वैज्ञानिक मूल्याङ्कन प्रणालीबारे प्रशिक्षित हुने लक्ष्य राखिएको छ। विद्यार्थी मूल्याङ्कनलाई स्तरीय, समान र समयसापेक्ष बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
विद्यार्थी मूल्याङ्कनका तरिका र प्रत्रपत्र निर्माणलाई स्तरीय तथा समान, समयसापेक्ष एवं वैज्ञानिक बनाउन प्रशिक्षण आयोजना गरिएको महानगरले जनाएको छ। प्रशिक्षण समापन अवसरमा प्रमाण पत्र वितरण गर्दै महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, ‘शिक्षा भनेको योग्यता मापनको सूचक मात्र होइन । शिक्षाले व्यक्तिलाई विपन्नताबाट सम्पन्नता प्रदान गर्न सक्नुपर्छ ।
उक्त कार्यक्रममा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले शिक्षा केवल योग्यता मापनको माध्यम नभई जीवनस्तर उकास्ने साधन भएको बताउनुभयो। उहाँले लगानीअनुसार देखिने प्रतिफल आउनुपर्नेमा जोड दिनुभयो।
विद्यालय व्यवस्थापन महाशाखा प्रमुख एवं शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले राष्ट्रिय पाठ्यक्रम प्रारूप र शिक्षक सक्षमता प्रारूप कार्यान्वयनमा शिक्षकको निरन्तर पेशागत विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। तालिम त्यसैको निरन्तरता भएको उहाँको भनाइ छ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका उपसचिव युवराज अधिकारीले विद्यार्थीको ज्ञान, बुझाइ, तर्क तथा सिर्जनात्मक क्षमताको वैज्ञानिक मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार मूल्याङ्कन विधि व्यवहारिक र बहुआयामिक हुनुपर्छ।
महानगरपालिकाले यस तालिमबाट आधारभूत तहको सिकाइ मूल्याङ्कन प्रणालीमा समानता र गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरेको छ। शिक्षक सक्षमता विकासमार्फत शैक्षिक सुशासन सुदृढ बनाउने लक्ष्य लिइएको छ।