आइतवार, फाल्गुण ३ २०८२
काठमाडौँ । ल्याबोरेटरी स्कुलमा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिवार विद्यालयका गुठियार डा. बालगोपाल बैद्धको सभापतित्व तथा गुठियार रोहिनी थपलियाको प्रमुख आतिथ्यमा अभिभावकहरूको उल्लेख्य सहभागितामा सम्पन्न भएको हो।

अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति मार्फत उपस्थित सबैको मन जितेका थिए। अभिभावकहरु आफ्नो बालबालिकाको प्रस्तुति देखेर खुसी देखिन्थे ।

विद्यालयको अभिभावक दिवसको अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल लाक्पा शेर्पाले विद्यालय र अभिभावकबीच सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। उहाँले शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकतामा राखेर विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो।

विद्यालय, अभिभावक र विद्यार्थीबीचको सहकार्य नै गुणस्तरीय शिक्षाको आधार भएको उल्लेख गर्दै शैक्षिक उन्नयनका लागि सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको प्रिन्सिपल शेर्पाको भनाई छ।
यसैगरी कीर्तिपुर नगरपालिका शिक्षा विभाग प्रमुख बिमल प्रसाद निरौलाले सामुदायिक तथा संस्थागत विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विद्यालय–अभिभावक–स्थानीय सरकारबीच समन्वय अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गुठियार रोहिणी थपलियाले विद्यालयले परम्परा र आधुनिक शिक्षालाई सन्तुलित रूपमा अगाडि बढाएको प्रशंसा गर्दै अभिभावकको सक्रिय साथले विद्यार्थीको समग्र विकास सम्भव हुने बताउनुभयो। उहाँले विद्यालयलाई थप सुदृढ र प्रभावकारी बनाउन संस्थागत प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूले देशका विभिन्न संस्कृति झल्किने नृत्य, गायन तथा प्रहसन प्रस्तुत गरी उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। विविध प्रस्तुति र सकारात्मक सन्देशले कार्यक्रम थप आकर्षक बनेको थियो।




