मंगलवार, फाल्गुण ५ २०८२
भक्तपुर, फागुन ५ त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयको आयोजनामा विभिन्न आंगिक क्याम्पस तथा केन्द्रीय विभागमा कार्यरत अंग्रेजी र समाजशास्त्र विषयका शिक्षकहरूका लागि एक साता लामो “Faculty Capacity Enhancement Training” सञ्चालन गरिएको छ। उपत्यका बाहिर अध्यापनरत युवा तथा कम अवसरप्राप्त शिक्षकहरूलाई प्राथमिकतामा राखी २०८२ फागुन ४ देखि १० गतेसम्म भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटस्थित Ratnagiri Resort मा आवासीय तालिम आयोजना गरिएको हो।

तालिमको उद्घाटन गर्दै दीपक अर्याल ले कक्षाकोठामा विद्यार्थीहरूसँग निरन्तर साक्षात्कारमा संलग्न इमानदार र कर्मठ शिक्षक नै विश्वविद्यालयको भविष्यका वास्तविक संवाहक भएको उल्लेख गर्नुभयो। उहाँले क्षमता अभिवृद्धि तालिममार्फत शिक्षण विधि, शैक्षिक सामग्री निर्माण, अनुसन्धान तथा प्रस्तुतिका विविध पक्षमा सकारात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो। साथै, विश्वविद्यालयमा खर्च व्यवस्थापनसम्बन्धी चुनौती रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता तालिमका अवसरहरू थप विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।

तालिममा अंग्रेजी विषयका ३५ जना तथा समाजशास्त्र विषयका ३२ जना शिक्षकको सहभागिता रहेको छ। कार्यक्रममा निमित्त डीन बामदेव अधिकारी ले तालिममार्फत विषयगत अन्तरक्रिया, अनुभव आदान–प्रदान तथा प्राज्ञिक उपलब्धिहरूको साटासाट हुने बताउनुभयो। नयाँ पाठ्यक्रमअनुसार शैक्षिक गतिविधिलाई अद्यावधिक गर्दै विश्व परिवेशमा देखिएका परिवर्तनलाई आत्मसात् गरी गहिरो विश्लेषण गर्ने अवसर प्राप्त हुने उहाँको भनाइ थियो।
त्यसैगरी विश्वविद्यालय अनुदान आयोग का योजना, अनुसन्धान तथा मूल्यांकन महाशाखाका निर्देशक केदार प्रसाद आचार्य ले विश्व बैंकको आर्थिक सहयोगमा विश्वविद्यालयका पाठ्यक्रम तथा शैक्षिक गतिविधिलाई श्रम बजारको आवश्यकताअनुरूप परिमार्जन गर्न क्षमता विकास तालिमका लागि अनुदान उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँले तालिमले शिक्षकहरूलाई शिक्षण तथा अनुसन्धान क्षेत्रमा थप सिर्जनशील, नवप्रवर्तनशील र जीवनपर्यन्त सिकाइको अवधारणातर्फ उन्मुख गराउने अपेक्षा व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा संकायका डीनद्वय चिरञ्जीवि आचार्य र खोमराज खरेल, अंग्रेजी केन्द्रीय विभागका विभागीय प्रमुख ध्रुव कार्की, समाजशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख पासाङ शेर्पा तथा प्रस्ताव लेखनमा संलग्न विज्ञ विनोद पोखरेल ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
तालिममा अंग्रेजीतर्फ प्रा.डा. अनिरुद्र थापा, डा. बलबहादुर थापा, लक्ष्मण भट्ट, डा. खुमप्रसाद शर्मा, डा. शिव रिजाल, डा. हेमलाल पाण्डे, सहप्रा.डा. तोयानाथ उपाध्याय, कुमार प्रसुन, रोसन तण्डुकार, प्रा.डा. जीवीलाल सापकोटा, प्रा.डा. कृष्णचन्द्र शर्मा, डा. केशव सिग्देल, प्रा.डा. आनन्द शर्मा, डा. राजु बराल, सहप्रा.डा. अन्जु गुप्ता लगायतले सहजीकरण गरिरहनुभएको छ भने समाजशास्त्रतर्फ प्रा.डा. चैतन्य मिश्र, प्रा. सुरेन्द्र मिश्र, डा. टीका गौतम, डा. गुमानसिंह खत्री, डा. केशव सिलवाल, प्रेमबहादुर चलाउने, डा. शम्भु प्रसाद कट्टेल, प्रा.डा. युवराज लुईटेल, डा. सुदीप नकर्मी, डा. दीपेश घिमिरे, वीरेन्द्र शाह, भरत गुरुङ, प्रा.डा. पेशल खनाल, डा. नीति अर्याल, प्रा.डा. प्रेमसागर चापागाईं लगायतको सहभागिता रहेको थियो।
यस तालिमले विश्वविद्यालयमा गुणस्तरीय शिक्षण–सिकाइ प्रवर्द्धन गर्नुका साथै अनुसन्धानमुखी शैक्षिक वातावरण सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।