मंगलवार, फाल्गुण ५ २०८२
काठमाडौं । निजी शिक्षालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (HISSAN) ले निजी शिक्षामा गरिएको लगानीको पूर्ण सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दै समग्र शिक्षा सुधारका लागि राज्यसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। सोमबार एक पत्रकार सम्मेलन गर्दै हिसानले आफ्नो नवौं राष्ट्रिय महाधिवेशनपछि सार्वजनिक धारणा मार्फत यस्तो आह्वान गरेको हो।
हिसानका अनुसार शिक्षा, स्वास्थ्य राज्यकै प्रमुख दायित्व भए पनि सीमित स्रोत–साधनका कारण निजी क्षेत्रले ठूलो लगानी गर्दै विद्यालय, उच्च तथा प्राविधिक शिक्षामा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। रोजगारी सिर्जना, गुणस्तरीय जनशक्ति उत्पादन, छात्रवृत्ति वितरण तथा पूर्वाधार विकासमार्फत निजी शिक्षालयहरूले शिक्षा क्षेत्रलाई टेवा पुर्याएको दाबी गरिएको छ।
हिसानले विद्यालय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन लामो समयदेखि जारी हुन नसक्दा शिक्षा क्षेत्रमा अन्योल बढेको उल्लेख गर्दै नीतिगत स्पष्टता र स्थायित्व आवश्यक रहेको जनाएको छ। शिक्षालयहरू तोडफोड, आगजनी तथा असुरक्षाको जोखिममा पर्नु दुःखद भएको भन्दै सुरक्षित शैक्षिक वातावरण निर्माण गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखिएको छ।
उच्च शिक्षाको सन्दर्भमा राजनीतिक अस्थिरता, विश्वविद्यालयमा तालाबन्दी, पाठ्यक्रम परिमार्जनमा ढिलाइ र परीक्षा प्रणालीको कमजोरीका कारण विद्यार्थी विदेशिने क्रम बढिरहेको भन्दै यसलाई रोक्न संरचनात्मक सुधार अपरिहार्य रहेको संगठनको ठहर छ। नेपाललाई नै शैक्षिक गन्तव्यका रूपमा विकास गर्न सरकार, विश्वविद्यालय र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ।
हिसानले संगठन सुदृढीकरण, प्रविधियुक्त प्रशासनिक प्रणाली विकास, क्षमता अभिवृद्धि तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक सम्मेलन सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। साथै अन्य छाता संगठनहरूसँग सहकार्य, सामाजिक उत्तरदायित्व कार्यक्रम, वातावरण संरक्षण, रक्तदान, वृक्षारोपण र जनचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।
निजी शिक्षामैत्री ऐन निर्माणका लागि पहल तथा दबाब सिर्जना गर्ने, लगानीको सुरक्षा सुनिश्चित गर्ने र शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै हिसानले समग्र शिक्षा सुधारका लागि तीनै तहका सरकार, अभिभावक, विद्यार्थी संगठन र सञ्चार क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारेको छ।



