शुक्रवार, फाल्गुण ८ २०८२
काठमाडौं, फागुन ८ — नोप्सोको आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालय स्तरीय एसइई क्विज प्रतियोगिता सम्पन्न भएको छ। कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पाठ्यक्रममा आधारित उक्त ‘SEE Quiz’ मा विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा जेम्स स्कुल प्रथम स्थान हासिल गर्न सफल भयो त्यसैगरी रानीवनस्थित वाटिका स्कुल द्वितीय स्थानमा र मण्डला स्कुलले तृतीय स्थान प्राप्त गर्यो। यसै अवसरमा विभूति विद्या मन्दिर, टोडलर्स ऐकेडेमी र द एक्सेल पब्लिक स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
पुरस्कार वितरण कार्यक्रम सिग्मा स्कुलमा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारी प्रकाश सञ्जेल उपस्थित हुनुहुन्थ्यो। साथै नोप्सोका संस्थापक अध्यक्ष युवराज बस्ताकोटी, सिग्मा स्कुलका प्रिन्सिपल जयदेव धामी, नोप्सो सचिव हरि विक्रम खड्का, राजकुमार श्रेष्ठलगायत विभिन्न शिक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व राजेश श्रेष्ठले गर्नुभएको थियो।
प्रतियोगितामा विद्यार्थीहरूले पाठ्यक्रममा आधारित प्रश्नोत्तरमार्फत आफ्नो ज्ञान र क्षमता प्रदर्शन गरेका थिए। आयोजकले यस प्रकारका शैक्षिक गतिविधिले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
