शनिवार, फाल्गुण ९ २०८२
९ फागुन/ काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ जिल्लाको सातौँ अधिवेशन लैनचौरस्थित सम्पन्न भएको छ। शुक्रबार काठमाडौँ को लैनचौरस्थित मल्ल होटेलमा भएको अधिवेशनबाट जिल्ला कार्यसमितिको अध्यक्षमा गोपीराज पराजुली निर्वाचित भएका छन्।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा ऋषि न्यौपाने, उपाध्यक्षमा लकश श्रेष्ठ, सचिवमा कृष्ण गौतम, सहसचिवमा छविलाल पाण्डे, कोषाध्यक्षमा लक्ष्मण घिमिरे तथा सदस्यहरूमा राजेन्द्र प्रसाद त्रिपाठी, श्यामकृष्ण महर्जन, जयदेव सिंह धामी, दीपक अधिकारी, शिशिर उप्रेती, प्रकाश थापा, राजकुमार श्रेष्ठ, पुरुषोत्तम महर्जन र गोविन्द प्रसाद दंगाल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

अधिवेशन पश्चात् नवनिर्वाचित अध्यक्ष पराजुलीले सम्पूर्ण प्रतिनिधि, केन्द्रीय तथा प्रदेश नेतृत्व, नगर तथा महानगर समितिहरू र निवर्तमान कार्यसमितिप्रति आभार व्यक्त गर्दै अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सदस्य संस्था प्रमुख, कर्मचारी तथा पत्रकारहरूलाई धन्यवाद दिनुभयो। उहाँले नवनिर्वाचित कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै संस्थागत एकता सुदृढ गर्ने प्रतिबद्धता जनाए।

अधिवेशनमा प्रमुख अतिथि उमेश श्रेष्ठले निजी शिक्षालयहरूले राज्यलाई कर तिर्नुका साथै हजारौँलाई रोजगारी सिर्जना गरेको उल्लेख गर्दै शिक्षा क्षेत्र देश निर्माणको मेरुदण्ड भएको बताउनुभयो। “राज्यको नियमअनुसार १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएका छौँ, तर निजी शिक्षालाई हेर्ने दृष्टिकोण अझै सकारात्मक बन्न सकेको छैन,” उहाँले भन्नुभयो।

उहाँले व्यक्तिगतभन्दा समूहगत रूपमा लगानी विस्तार गर्नुपर्ने, विश्वविद्यालय स्थापना जस्ता दीर्घकालीन परियोजनामा सहकार्य गर्नुपर्ने तथा प्रविधिलाई शिक्षाको आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
शुभकामना मन्तव्य दिँदै वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठले निजी शिक्षा क्षेत्रलाई राष्ट्र निर्माणको महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गर्न राज्यले स्पष्ट र सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने बताउनुभयो । नयाँ नेतृत्वले संस्थागत पारदर्शिता, सहकार्य र गुणस्तर अभिवृद्धिमा प्रभावकारी भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

महासचिव रामहरि सिलवालले निजी शिक्षामा गरिएको लगानीको सुरक्षा राज्यले सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो। शिक्षा क्षेत्रमा राजनीतिक दलहरूको स्पष्ट नीति र धारणा आवश्यक रहेको उल्लेख गर्दै उनले निजी शिक्षालाई दीर्घकालीन दृष्टिकोणसहित अघि बढाउनुपर्ने बताउनुभयो। साथै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

हिसानका कोषाध्यक्ष शिवप्रसाद अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै आर्थिक पारदर्शिता र संस्थागत सुदृढीकरणमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो। उहाँले नयाँ नेतृत्वले संगठनलाई थप व्यवस्थित, जिम्मेवार र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम निवर्तमान अध्यक्ष जेसिका चिम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हिसानका केन्द्र, प्रदेश र जिल्लास्तरीय पदाधिकारी, सदस्य संस्थाका सञ्चालक तथा प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले निजी शिक्षा क्षेत्रको सुदृढीकरण, नीतिगत स्पष्टता तथा राज्यसँग सहकार्यको आवश्यकतामा जोड दिएका थिए।







