आइतवार, फाल्गुण १० २०८२
काठमाडौं । शंखमूलस्थित नेरिक एकेडेमीमा छैटौँ “नेरिक लिटल आइकन–२०८२” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार विद्यालय परिसरमै आयोजित कार्यक्रममा नेरिक किन्डरगार्डेनका स–साना बालबालिकाले सांस्कृतिक तथा शैक्षिक सन्देश झल्किने आकर्षक र्याम्प वाक प्रस्तुत गरे।
उक्त कार्यक्रम शिक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको नेरिक एकेडमीका प्रिन्सिपल मिलन केसिले बताए। कार्यक्रममा नेरिक किन्डरवर्ल्डका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
बालबालिकाहरुको आत्मविश्वासपूर्ण प्रस्तुतिले अभिभावक तथा अतिथिहरूको मन जितेको थियो। साथै विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले विविध नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप रोचक र जीवन्त बनाएका थिए। कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।

किन्डरगार्डेनका बालबालिकासँगै कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले पनि नृत्य प्रस्तुत गरी आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विविध सांस्कृतिक झाँकी र सन्देशमूलक प्रस्तुतीले कार्यक्रमलाई विशेष बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अभिभावक अनुजमान बज्राचार्यले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वांगीण विकासमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गरे।
विद्यालयले मादल, बाँसुरी जस्ता वाद्ययन्त्र अभ्यासदेखि विभिन्न सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरूको आत्मविश्वास, शारीरिक क्षमता र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे। “यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, शारीरिक क्षमता र अनुशासनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ,” उनले भने।
त्यस्तै, विद्यालयका प्रिन्सिपल मिलन केसीले नेरिक एकेडेमी विद्यार्थी उत्पादन गर्ने मात्र स्थल नभई उनीहरूको सम्भावनालाई उजागर गर्ने पवित्र थलो भएको बताए। विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बीमाको व्यवस्था गरेको जानकारी दिँदै उनले समयानुकूल शैक्षिक तथा अतिरिक्त गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको स्पष्ट पारे। “यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई डरबाट माथि उठ्न प्रेरित गरेको छ।

अभिभावकहरूको सुझावलाई आत्मसात् गर्दै विद्यालय परिवर्तनका लागि सधैं तयार छ,” उनले भने। नर्सरीका विद्यार्थीले आत्मविश्वासका साथ आफ्नो नाम लिँदा आफू भावुक बनेको अनुभवसमेत उनले सुनाए। कार्यक्रमको समापनमा लक्की ड्रमार्फत चार जना अभिभावकलाई सम्मान गरिएको थियो।
समग्रमा, “नेरिक लिटल आइकन–२०८२”ले बालबालिकाको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा विद्यालय–अभिभावक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।