आइतवार, फाल्गुण १० २०८२
काठमाडौं। द सनसाइन स्कुल तथा कलेजको २९औँ वार्षिकोत्सव, अभिभावक दिवस, स्रष्टा सम्मान तथा नागरिक अभिनन्दन कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। शनिबार विद्यालय प्राङ्गणमा शिक्षा, संस्कृति र सामाजिक उत्तरदायित्वलाई समेट्दै आयोजित समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष विष्णु भण्डारीको सभापतित्व तथा सुनिता डंगोल (काठमाडौँ महानगरपालिका कार्यबाहक प्रमुख) को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। समारोहमा शिक्षा, समाजसेवा, स्वास्थ्य, पत्रकारिता तथा विभिन्न सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि सुनिता डंगोलले विद्यालयले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रशंसा गर्नुभयो। उहाँले सामुदायिक भावना, अनुशासन र आधुनिक शिक्षण पद्धतिलाई आत्मसात् गर्दै अघि बढेको प्रयास सराहनीय रहेको बताउनुभयो। “विद्यालय केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको व्यक्तित्व, नैतिकता र नेतृत्व विकासको केन्द्र बन्नुपर्छ,” उहाँले भन्नुभयो, “द सनसाइनले यही उद्देश्यलाई आत्मसात् गर्दै निरन्तर प्रगति गरिरहेको देखिन्छ।” विशिष्ट अतिथि तथा सम्मानित स्रष्टा प्राध्यापक डा. केशव श्रेष्ठले शिक्षामा सिर्जनशीलता, अनुसन्धान र मूल्यआधारित शिक्षाको महत्त्व औँल्याउँदै विद्यालयलाई ज्ञान र संस्कारको संगमका रूपमा अगाडि बढ्न आग्रह गर्नुभयो।

त्यस्तै, नागरिक अभिनन्दनबाट सम्मानित मानव सेवा आश्रम का संस्थापक रामजी अधिकारी ले मानवीय सेवा र सामाजिक उत्तरदायित्वमा शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा अध्यक्ष ईश्वरमान डंगोल, आनन्द कुटी बिहार प्रमुख धर्मगुरु धर्ममुर्ति भन्ते, विद्यालय निरीक्षक धनकुमारी भण्डारी, प्याब्सन बागमती सचिव जीवन पन्थी, सानका अध्यक्ष दिलिप रेग्मी, नागार्जुन प्याब्सन अध्यक्ष बासु घिमिरे, वडा सदस्य मैयालक्ष्मी महर्जन, हिसान नागार्जुन अध्यक्ष जयराम चापागाईं, उपाध्यक्ष गोविन्द पगेनी, सामुदायिक अस्पताल उपाध्यक्ष प्रकाश श्रेष्ठ, समाजसेवी राजेन्द्र पाण्डे, होमराज पौडेल, सान सहसचिव रोशन घिमिरे तथा एन–प्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कार्की लगायतको उपस्थिति रहेको थियो।

विद्यालयका प्राचार्य बाबुराम गौतमले स्वागत मन्तव्य दिँदै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, प्रविधिमैत्री शिक्षण पद्धति र समग्र व्यक्तित्व विकासमा निरन्तर जोड दिँदै आएको बताउनुभयो। उहाँले अभिभावक र विद्यालयबीचको सुदृढ सहकार्यले नै विद्यार्थीको उज्ज्वल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।

समारोहमा सम्मानित शिक्षा पत्रकार टंक प्रसाद जोशी, एन्फा फुटबलर अनिल थापा, सुवास श्रेष्ठ र सुरज गिरी तथा अतिथि कलाकार कृष्ण वि.के. लाई सम्मान गरिएको थियो। साथै ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई विशेष सम्मान प्रदान गरी समाजप्रतिको कृतज्ञता व्यक्त गरिएको थियो। उक्त सम्मानले पुस्तान्तरणीय अनुभव र योगदानप्रति विद्यालयको उच्च सम्मान झल्काएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले नेपालको विविध सांस्कृतिक परम्परा झल्काउने नृत्य, गीत तथा प्रहसन प्रस्तुत गरेका थिए। बालबालिकाहरूको आत्मविश्वासपूर्ण र आकर्षक प्रस्तुति देखेर अभिभावकहरू अत्यन्तै खुसी र उत्साहित देखिन्थे।

त्यसैगरी, कार्यक्रममा शैक्षिक प्रदर्शनी पनि आयोजना गरिएको थियो। विद्यार्थीहरूले स्थानीय सामग्रीको प्रयोग गरी तयार पारेका विभिन्न शैक्षिक सामग्री, विज्ञान परियोजना तथा सिर्जनात्मक कृतिहरू प्रदर्शनीमा राखिएका थिए। उक्त प्रदर्शनीले विद्यार्थीहरूमा सिर्जनशीलता, व्यवहारिक ज्ञान र आत्मनिर्भर सोचको विकास भएको स्पष्ट देखाएको थियो। स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै ज्ञानलाई व्यवहारमा उतार्ने प्रयासले अभिभावक तथा अतिथिहरूबाट विशेष प्रशंसा प्राप्त गरेको थियो।

कार्यक्रमका सभापति तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष विष्णु भण्डारीले समापन मन्तव्य राख्दै विद्यालयको २९ वर्षे यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने अभिभावक, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम, प्रविधिमैत्री वातावरण, अनुसन्धानमुखी शिक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्था अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उत्साह, सम्मान, सिर्जनशीलता र सांस्कृतिक प्रस्तुतिले भरिएको यस समारोहले द सनसाइन स्कुल कलेजको शैक्षिक योगदान, सामाजिक प्रतिबद्धता र उज्ज्वल भविष्यप्रतिको दृढ संकल्पलाई पुनः एकपटक उजागर गरेको छ।





