सोमवार, फाल्गुण ११ २०८२
काठमाडौँ । फागुन ९ गते शनिबार काठमाडौँ महानगरपालिका–१६, बालाजु हाइटस्थित ज्ञान मन्दिर सेकेन्डरी स्कुलको ३९औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार नवराज लम्साल रहनुभएको थियो। उहाँले शिक्षाले व्यक्तित्व निर्माणसँगै समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयले संस्कारयुक्त र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा गर्नुभयो। कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोतम मानन्धरले गर्नुभएको थियो। उहाँले विद्यालयको निरन्तर प्रगति, अभिभावकको साथ र समुदायको सहयोगले संस्थालाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्नुभयो। उक्त अवसरमा विद्यालयको वार्षिक स्मारिका विमोचन गरिएको थियो भने जेष्ठ नागरिकहरूलाई सम्मानसमेत गरिएको थियो। विद्यार्थीहरूले नृत्य, गायन, नाटक तथा अन्य सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो बहुआयामिक प्रतिभा प्रदर्शन गरेका थिए।

अभिभावकहरूको विशेष भेलासमेत सम्पन्न भएको कार्यक्रममा विद्यालयका शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराइएको थियो। त्यस क्षेत्रका विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनुहुने प्रधानाध्यापक रविन बस्नेतसहित सम्पूर्ण विद्यालय परिवारप्रति सहभागीहरूले हार्दिक आभार व्यक्त गरेका छन्।
३९औँ अभिभावक दिवसले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
