Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन विश्वविद्यालयको विषयगत वरीयतामा उल्लेखनीय सुधार

त्रिभुवन विश्वविद्यालयको विषयगत वरीयतामा उल्लेखनीय सुधार

  • 430
    SHARES

  • त्रिभुवन विश्वविद्यालयको विषयगत वरीयतामा उल्लेखनीय सुधार

    काठमाडौं, फागुन १३। नेपालको सबैभन्दा पुरानो र ठूलो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) ले विश्व विश्वविद्यालय वरीयतामा उल्लेखनीय सुधार गरेको जनाएको छ। विश्व वरीयता र विषयगत र्‍याङ्किङमा भएको प्रगतिबारे जानकारी गराउने उद्देश्यले त्रि.वि.ले पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै सो कुरा जानकारी दिएको हो।

    उपकुलपति प्रा.डा. दीपक अर्यालले विश्वविद्यालयको विश्वस्तरीय छवि सुदृढ बनाउन अनुसन्धानमा लगानी वृद्धि, अन्तर्राष्ट्रिय सहकार्य विस्तार, शिक्षण वातावरणको आधुनिकीकरण, उद्योगसँग सहकार्य तथा डिजिटल उपस्थितिलाई मजबुत बनाउने रणनीति अघि सारिएको जानकारी दिनुभयो। उहाँका अनुसार त्रि.वि. अब संख्यात्मक विस्तारभन्दा गुणस्तरीय उन्नयनतर्फ केन्द्रित हुँदै गएको छ।

    FB_IMG_1772022492870.jpg

    यस वर्षको Times Higher Education (THE) वर्ल्ड युनिभर्सिटी र्‍याङ्किङमा त्रि.वि. १५०१+ समूहमा पर्न सफल भएको छ। त्यस्तै U.S. News & World Report द्वारा प्रकाशित र्‍याङ्किङमा ९१९औँ स्थान र Center for World University Rankings (CWUR) मा १६५७औँ स्थान हासिल गरेको छ। CWUR का अनुसार त्रि.वि. विश्वका शीर्ष ७.८ प्रतिशत विश्वविद्यालयभित्र पर्न सफल भएको छ, जुन अघिल्लो वर्षको ८.३ प्रतिशतभन्दा सुधारिएको सूचक हो।

    विश्वका प्रतिष्ठित र्‍याङ्किङ निकायहरूले फरक–फरक मापदण्ड अपनाउने भएकाले एउटै विश्वविद्यालयको स्थानमा भिन्नता देखिने गरेको छ। THE ले शिक्षण वातावरण, अनुसन्धान गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिन्छ भने U.S. News ले अनुसन्धान प्रतिष्ठा, प्रकाशन र उद्धरण प्रभावलाई आधार मान्छ। CWUR ले पूर्वविद्यार्थीहरूको उपलब्धि, प्राध्यापकहरूको विशिष्टता र अनुसन्धानलाई मापनको आधार बनाउँछ।

    विश्व वरीयतासम्बन्धी गठित समितिका संयोजक तथा भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. नारायणप्रसाद अधिकारीले यस्ता बहुआयामिक मूल्याङ्कनले त्रि.वि.का सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुगेको बताउनुभयो।

    शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले त्रि.वि.को विषयगत र्‍याङ्किङमा प्रदर्शन उत्कृष्ट रहेको उल्लेख गर्दै विश्वविद्यालयको वैश्विक छवि क्रमशः सुदृढ हुँदै गएको बताउनुभयो। उहाँले विद्यार्थी सङ्ख्या निरन्तर वृद्धि भइरहेको र उच्च शिक्षाको समग्र सुधारमा विश्वविद्यालय प्रयत्नशील रहेको धारणा राख्नुभयो।

    रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले त्रि.वि.प्रति विद्यार्थीहरूको आकर्षण बढिरहेको उल्लेख गर्दै त्रि.वि.भन्दा कम वरीयताका विदेशी विश्वविद्यालयमा अध्ययनका लागि जाने प्रवृत्तिबारे सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

    विशेषगरी ‘मेडिसिन एन्ड हेल्थ’ विषयमा त्रि.वि.ले विश्व वरीयतामा ६०१औँ स्थान कायम गरेको छ, जुन दक्षिण एशियाली सन्दर्भमा उल्लेखनीय उपलब्धि मानिएको छ। यसले स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षा सम्भव रहेको सन्देश दिएको विश्वविद्यालयले जनाएको छ।

    त्रि.वि.ले अब विश्वविद्यालयको मूल्याङ्कन विद्यार्थी सङ्ख्याबाट मात्र नभई गुणस्तरीय अनुसन्धान, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, नवप्रवर्तन र समाजमा पुर्‍याएको योगदानका आधारमा निर्धारण गर्ने लक्ष्य लिएको छ। पर्याप्त लगानी, दीर्घकालीन रणनीति र अन्तर्राष्ट्रिय सहकार्यमार्फत आगामी वर्षहरूमा विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूको सूचीमा थप उचाइ हासिल गर्ने प्रतिबद्धता विश्वविद्यालयले जनाएको छ।

    पत्रकार भेटघाटमार्फत त्रि.वि. नेतृत्वले अनुसन्धानको गुणस्तर, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतामा थप सुधार गर्दै संस्थालाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने अठोटसमेत व्यक्त गरेको छ।

    images
    बुधवार, फाल्गुण १३ २०८२०६:३७:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार