बुधवार, फाल्गुण २७ २०८२
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत शैक्षिक सत्र २०८२ सालको आधारभूत शिक्षा (कक्षा ८) उत्तीर्ण परीक्षा चैत ५ गतेदेखि सुरु हुने भएको छ। महानगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा समितिको मिति २०८२ माघ १४ गते बसेको बैठकले यस वर्ष परीक्षा होम सेन्टर बाहिरबाट सञ्चालन गर्ने निर्णय गरेको हो।
महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार परीक्षा तोकिएको समयतालिका अनुसार सञ्चालन गरिनेछ। परीक्षा दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।
यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्। तीमध्ये १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा रहेका छन्।
विद्यालयको प्रकृतिका आधारमा हेर्दा २ वटा कारागार र १ वटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना तथा ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा समितिका अध्यक्ष तथा शिक्षा विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो।
उहाँका अनुसार गत वर्ष कक्षा ८ को परीक्षामा १८ हजार २९४ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्ष भने अघिल्लो वर्षको तुलनामा ८२३ जना बढी विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्। परीक्षालाई मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउन होम सेन्टर बाहिरबाट परीक्षा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।
