सोमवार, चैत्र २ २०८२
धनगढी, चैत २ — धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकता दिँदै प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। उपमहानगरपालिकाले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा उक्त तालिम सम्पन्न गरेको हो।
शैक्षिक सत्र २०८२ मा उपमहानगरभित्र रहेका ६८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई लक्षित गरी सञ्चालन गरिएको १६ दिने, ९३ क्रेडिट घण्टाको तालिम पूरा गरेका ५८ जना प्रधानाध्यापकलाई आइतबार प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ।
२०८१ पौष ३ गतेदेखि २०८२ साउन १२ गतेसम्म सञ्चालन भएको तालिम तीन चरणमा सम्पन्न गरिएको थियो। जसअनुसार ४ दिन प्रत्यक्ष (फेस–टु–फेस) प्रशिक्षण, ८ दिन अनलाइन प्रशिक्षण र पुनः ४ दिन प्रत्यक्ष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।
तालिममार्फत विद्यालय नेतृत्व तथा व्यवस्थापन क्षमता अभिवृद्धि, शैक्षिक योजना निर्माण र विद्यालयको समग्र गुणस्तर सुधारसँग सम्बन्धित विषयमा प्रधानाध्यापकहरूलाई प्रशिक्षण प्रदान गरिएको जनाइएको छ।
समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा काठमाडौं विश्वविद्यालय School of Education का डिन प्राध्यापक डा. बालचन्द्र लुइँटेल र शिक्षक प्रशिक्षक इन्द्रमणि दाहाल को उपस्थिति रहेको थियो।

डा. बालचन्द्र लुइँटेल ले तालिमले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनले विद्यालयको गुणस्तर सुधारका लागि सक्षम र दूरदर्शी नेतृत्व आवश्यक हुने बताउँदै यस्तो तालिमले विद्यालय व्यवस्थापन, शैक्षिक योजना निर्माण तथा प्रभावकारी शैक्षिक वातावरण सिर्जनामा सकारात्मक योगदान पुर्याउने धारणा राखे।
उनका अनुसार विद्यालयको समग्र विकासका लागि प्रधानाध्यापकको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले यस्ता क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको पनि उनले उल्लेख गरे।