सोमवार, चैत्र ९ २०८२
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहमा अध्ययन पूरा गरी परीक्षा उत्तीर्ण गरिसकेका तर शोधपत्र (Project Work / Thesis / Dissertation) बुझाउन बाँकी रहेका विद्यार्थीहरूका लागि अन्तिम अवसर प्रदान गर्ने भएको छ।
त्रि.वि. प्राज्ञिक परिषद स्थायी समिति को मिति २०८२ माघ २९ गते सम्पन्न बैठकको निर्णय नं. २८१ अनुसार ई.सं. २०२० वा सोभन्दा अघि रजिस्ट्रेसन भएका वार्षिक तथा सेमेस्टर प्रणालीका कार्यक्रमका विद्यार्थीहरूलाई यो सुविधा दिने निर्णय गरेको हो।
निर्णयअनुसार सम्बन्धित विद्यार्थीहरूले वि.स. २०८३ साल आषाढ मसान्तसम्म सम्बन्धित डीन कार्यालयमा आफ्नो शोधपत्र अनिवार्य रूपमा बुझाइसक्नुपर्नेछ। यसलाई ‘अन्तिम मौका’ का रूपमा परिभाषित गरिएकोले निर्धारित समयपछि थप अवसर नदिइने स्पष्ट बताइएको छ।
त्रि.वि.का अनुसार लामो समयदेखि शोधपत्र नबुझाएका कारण डिग्री प्राप्त गर्न नसकेका हजारौं विद्यार्थीलाई लक्षित गर्दै उक्त निर्णय गरिएको हो। यसले अधुरो शैक्षिक यात्रा पूरा गर्ने र शैक्षिक उपलब्धि सुनिश्चित गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
