बिहिवार, चैत्र १२ २०८२
काठमाडौं। न्यू अरुणोदय माद्यामिक विद्यालय (New Arunoday Secondary School), अभिभावक दिवस विविध संस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ। गत शनिवार काठमाडौँ महानगरपालिका वडा १५, डल्लु ( बिजेश्वरी) स्थित उक्त विद्यालयले बिबिध नेपाली संस्कृति झल्किने विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुतिहरू सहित अभिभावक दिवस २०८२ सम्पन्न गरेको हो।

कार्यक्रम विद्यालयकी संस्थापक तथा निर्देशक जेसिका चेम्जोङको सभापतित्व तथा काठमाडौँ महानगरपालिका वडा नं. १५ का अध्यक्ष इश्वरमान डंगोल प्रमुख प्रमुख आतित्ब्यतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा शिक्षा शाखा प्रमुख मैया लक्ष्मी महर्जन, शिक्षाविद् तथा समाजसेवी देविप्रसाद घिमिरे विद्यालय व्यवस्थापक रुद्रबहादुर लिम्बू, गुरुकुलम स्कुलका प्रिन्सिपल एवं न्यु अरुणोदय माविका सहजकर्ता रत्न भण्डारी लगायतको उल्लेख्य रुपमा अभिभावकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डंगोलले गुणस्तरीय शिक्षाका लागि वडा कार्यालय निजी तथा सामुदायिक विद्यालयसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो। उहाँले अभिभावक, विद्यालय र विद्यार्थीबीच सुदृढ त्रिकोणात्मक सम्बन्ध स्थापित भएमा बालबालिकाको समग्र विकास सम्भव हुने उल्लेख गर्नुभयो। सबैले आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने र अभिभावकले आफ्ना बालबालिकाको क्षमता पहिचान गर्नुपर्ने उहाँको भनाइ थियो।

सभापति जेसिका चेम्जोङले वर्षभरि विद्यार्थीहरूले तयारी गरेका प्रस्तुतिहरू अभिभावकले प्रत्यक्ष अवलोकन गर्ने अवसर अभिभावक दिवसले प्रदान गरेको बताउनुभयो। उहाँले अभिभावकहरूले आफ्ना बालबालिकाको आनीबानी र क्षमता बुझ्न आवश्यक रहेको उल्लेख गर्दै अभिभावकहरूको माया र सद्भावका कारण विद्यालयले निरन्तर प्रगति गरिरहेको बताउनुभयो। बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य पूरा गर्न अभिभावकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

शिक्षाविद् तथा समाजसेवी देवि प्रसाद घिमिरेले विद्यार्थीहरूमा नैतिक शिक्षाको महत्व औंल्याउँदै ‘जेन–जी’ पुस्तालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो। विदेश जाने प्रवृत्तिभन्दा आफ्नै देशमा अवसर सिर्जना गर्दै अघि बढ्ने शिक्षा आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा विद्यार्थीहरूले विविध नेपाली संस्कृति झल्किने नृत्य, गीत तथा अन्य विविध प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको आकर्षक प्रस्तुतिबाट अभिभावकहरू अत्यन्तै खुसी देखिएका थिए। कार्यक्रमले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध अझ सुदृढ बनाएको आयोजकले जनाएको छ।


