शुक्रवार, चैत्र १३ २०८२
काठमाडौं, चैत १३ — काठमाडौँ महानगरपालिका शिक्षा विभागले हालै जारी गरेको शिक्षक दरबन्दी मिलान सम्बन्धी सूचनाप्रति विभिन्न पेशागत संघ–संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
मिति २०८२ चैत ९ गते चलानी नं. १४०३ मार्फत प्रकाशित सूचनामा दरबन्दी मिलानका लागि शिक्षकहरूबाट निवेदन आह्वान गरिएको भए पनि उक्त प्रक्रिया स्पष्ट र पारदर्शी नभएको भन्दै सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।
संयुक्त रूपमा जारी गरिएको ध्यानाकर्षण पत्रमा संघ–संगठनहरूले काठमाडौँ महानगरपालिकाको शिक्षा गुणस्तर अभिवृद्धिमा आफूहरूको निरन्तर रचनात्मक सहयोग रहँदै आएको उल्लेख गर्दै पछिल्लो सूचना अस्पष्ट हुँदा शिक्षकहरूमा अन्योल र चिन्ता बढेको जनाएका छन्।

उनीहरूले दरबन्दी मिलानका न्यूनतम मापदण्ड, थप गरिने विद्यालय र विषयगत दरबन्दी, तथा बढी भएका दरबन्दीको व्यवस्थापनबारे स्पष्ट विवरण सार्वजनिक गर्न माग गरेका छन्। साथै, मिलान प्रक्रिया चलिरहेका बेला अन्य सरुवाका काम तत्काल रोक्नुपर्ने र प्राथमिकता निर्धारणका आधार तथा विधिहरू सार्वजनिक गर्नुपर्ने माग पनि अघि सारेका छन्।
पेशागत संघ–संगठनहरूले प्राथमिक तहमा कम्तीमा पाँच दरबन्दी तथा निम्न माध्यमिक र माध्यमिक तहमा विषयगत दरबन्दी सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्। त्यस्तै, निवेदनका आधारमा छनोट भएका विद्यालयहरूको विवरण पारदर्शिताका लागि महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशन गर्नुपर्ने माग गरिएको छ।
मागहरू कार्यान्वयन नभए कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत संघ–संगठनहरूले दिएका छन्। यस विषयमा बोधार्थस्वरूप काठमाडौँ महानगरपालिका को कार्यवाहक प्रमुखको कार्यालय तथा शिक्षा तथा स्वास्थ्य समितिलाई पनि जानकारी गराइएको छ।

