सोमवार, चैत्र १६ २०८२
काठमाडौं, चैत १६ । त्रिभुवन विश्वविद्यालयले प्रवासी नेपालीहरूलाई लक्षित गर्दै अनलाइन माध्यमबाट उच्च शिक्षाको पहुँच विस्तार गर्ने महत्वपूर्ण पहल सुरु गरेको छ। विश्वविद्यालय अन्तर्गतको खुला तथा दुर शिक्षा केन्द्र (ODL) मार्फत अब विदेशमा रहेका नेपालीहरूले पनि नेपालमै बसेजस्तै गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने भएका छन्।
विश्वविद्यालयले विशेषगरी खाडीका ६ देश, जापान, दक्षिण कोरिया, दक्षिणपूर्वी एसिया तथा भारतका उत्तरी क्षेत्रमा कार्यरत नेपालीहरूलाई लक्षित गरी स्नातक तहका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। प्रारम्भिक चरणमा व्यवस्थापन संकाय अन्तर्गतको (BBS) कार्यक्रमसँगै नेपाली भाषा र मौलिक संस्कृतिमा आधारित नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ, जसमा प्रयोगात्मक परीक्षा आवश्यक नपर्ने गरी पाठ्यक्रम निर्माण गरिनेछ।

कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा आयोजित छलफल कार्यक्रममा उपकुलपति दीपक अर्याल ले प्रवासी नेपालीको आवश्यकता र अवस्थालाई ध्यानमा राखी सहज, लचिलो र व्यवहारिक शिक्षा प्रणाली विकास गरिने बताउनुभयो। उहाँका अनुसार यस पहलले विदेशमा रहेका नेपालीहरूको शैक्षिक पहुँच मात्र होइन, उनीहरूको ज्ञान र सीप अभिवृद्धिमा समेत योगदान पुर्याउनेछ।
त्रिविका शिक्षाध्यक्ष खडग केसी ले उच्च शिक्षा हासिल गर्न नपाई बाध्यतावश विदेशिएका नेपालीहरूलाई लक्षित गरी त्रिवि सभाबाट पारित नीति अनुसार यो कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो।
त्यसैगरी रजिष्ट्रार केदार प्रसाद रिजाल ले सूचना प्रविधिको प्रयोगमार्फत प्राविधिक विषयहरू समेत अनलाइन माध्यमबाट पढाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरी प्रयोगशाला सुविधा समेत उपयोग गर्न सकिने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल सरकार, परराष्ट्र मन्त्रालय का सहसचिव पुष्पराज भट्टराई ले यस पहलको स्वागत गर्दै आवश्यक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले अनलाइन शिक्षालाई दीर्घकालीन र प्रभावकारी बनाउन डिजिटल पूर्वाधारमा लगानी वृद्धि तथा विश्व बजारअनुसारको पाठ्यक्रम विकास गर्न सुझाव दिनुभयो।
छलफलमा विभिन्न संकायका डीनहरू तथा ODL केन्द्रका पदाधिकारीहरूले शैक्षिक कार्यविधि परिमार्जन, परीक्षा प्रणाली, मूल्याङ्कन र व्यवस्थापनका विषयमा विस्तृत योजना प्रस्तुत गरेका थिए।
यस पहलले विदेशमा रहेका लाखौं नेपालीलाई शिक्षा, सीप र अवसरसँग जोड्ने अपेक्षा गरिएको छ, जसले दीर्घकालमा नेपालको मानव संसाधन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।