Jul 27 2026 | २०८३, श्रावण ११ गते

आजदेखि एसईई सुरु: पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी, एक महिनामै नतिजा !

आजदेखि एसईई सुरु: पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी, एक महिनामै नतिजा !

  • 221
    SHARES

  • आजदेखि एसईई सुरु: पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी, एक महिनामै नतिजा !

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर एकैसाथ सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

    बिहान ८ बजेदेखि सबै परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ। आज चैत १९ गतेदेखि सुरु भएर २९ गतेसम्म चल्ने परीक्षामा यस वर्ष कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन्।

    कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

    सहभागीमध्ये छात्राको संख्या बढी छ  । दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्। विदेशस्थित जापानको एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थी सहभागी हुनेछन्।

    पहिलो दिन चैत १९ गते अनिवार्य अंग्रेजी विषयबाट परीक्षा सुरु हुनेछ। त्यसपछि क्रमशः चैत २० गते नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुनेछ। चैत २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन गरिनेछ।

    यस वर्ष परीक्षा अनुगमन प्रणालीमा परिवर्तन गरिएको छ। विगतमा जस्तै सामूहिक अनुगमनलाई बोर्डले रोक लगाएको छ। परीक्षा केन्द्रभित्र विभिन्न समूहको प्रवेशले परीक्षार्थीलाई असहज बनाएको गुनासोपछि यस्तो निर्णय गरिएको हो।

    अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्रको बाहिरी क्षेत्रबाट मात्र अनुगमन गर्ने व्यवस्था गरिएको छ। पत्रकारहरूलाई पनि परीक्षा केन्द्रभित्र प्रवेश नदिई बाहिरी दृश्य मात्र खिच्न पाइनेछ।

    बोर्डका अनुसार हरेक परीक्षा केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ। प्रत्येक केन्द्रमा औसत १५ जना प्रहरी खटाइनेछन्। साथै, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको छ।

    यस वर्षको एसईईमा परीक्षा सम्पन्न भएको केन्द्रमै कापी परीक्षण गर्ने निर्णय गरेको छ। सम्बन्धित विषयका शिक्षक उपलब्ध नभए वा सुरक्षा चुनौती देखिएमा मात्र जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले वैकल्पिक व्यवस्था गर्नेछ।

    यो निर्णयको मुख्य उद्देश्य नतिजा छिटो सार्वजनिक गर्नु हो। शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिइसकेका छन्। यसअघि नतिजा असार दोस्रो सातातिर मात्र आउने गरेको थियो।

    परीक्षा नियन्त्रक अधिकारीका अनुसार नयाँ कार्यविधिमा दुई विकल्प राखिएको छ—पहिलो, सम्भव भएसम्म परीक्षा केन्द्रमै परीक्षण; दोस्रो, आवश्यक परे सुरक्षित स्थानमा सारेर परीक्षण।

    परीक्षा केन्द्रमै कापी परीक्षण गर्दा ढुवानी, व्यवस्थापन र समयको झन्झट घट्ने विश्वास बोर्डको छ। यसअघि जिल्लागत रूपमा तोकिएका करिब ५० परीक्षण केन्द्रमा परीक्षकहरू गएर कापी जाँच गर्ने प्रचलन थियो, जसले समय लम्ब्याउने गरेको थियो।

    शिक्षा ऐनको आठौं संशोधन (२०७३) पछि कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिए पनि कक्षा १० को अन्तिम परीक्षा भने अझै पुरानै एसएलसी शैलीमा सञ्चालन हुँदै आएको छ। यसले विद्यार्थी र अभिभावकमा अनावश्यक दबाब बढाएको भन्दै आलोचना हुँदै आएको छ।

    संविधानअनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख छ।

    images
    बिहिवार, चैत्र १९ २०८२०६:३७:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार