मंगलवार, चैत्र २४ २०८२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एकपटक भर्ना भइसकेपछि पटक–पटक भर्ना शुल्क नलिन निर्देशन दिएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि भर्ना प्रक्रिया सञ्चालन नगर्न र कुनै पनि प्रकारको अग्रिम शुल्क असुल नगर्न पनि कडाइका साथ भनेको छ। पछिल्लो समय विभिन्न विद्यालयहरूले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने, अग्रिम शुल्क लिने, स्वीकृतभन्दा बढी शुल्क असुल गर्ने तथा फरक शीर्षकमा शुल्क उठाउने गुनासो बढेपछि मन्त्रालयले यस विषयमा चासो देखाएको हो।
प्रचलित शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र सुरु नभई भर्ना गर्न नपाइने व्यवस्था छ। साथै, भर्ना भएपछि स्वीकृत शीर्षकअनुसार मात्र शुल्क लिन पाइने कानुनी प्रावधान रहेको छ। तर केही विद्यालयहरूले नियमविपरीत कार्य गरिरहेको पाइएपछि मन्त्रालयले कडाइ गरेको हो।
त्यसैगरी सर्वोच्च अदालत को फैसलाअनुसार पनि अग्रिम शुल्क लिइएको भए तत्काल फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ। मन्त्रालयले नियमविपरीत शुल्क असुली गर्ने विद्यालयमाथि आवश्यक कारबाही गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार अब स्थानीय तहहरूले विद्यालयहरूको नियमित अनुगमन गरी उल्लंघन भएमा कडाइका साथ कारबाही गर्नेछन्। साथै, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पनि समन्वय र सहजिकरणको जिम्मेवारी दिइएको छ।
यस निर्देशनले विद्यालय शुल्क व्यवस्थापनमा पारदर्शिता ल्याउने तथा अभिभावक र विद्यार्थीमाथि पर्ने आर्थिक भार घटाउने विश्वास गरिएको छ।
