बिहिवार, चैत्र २६ २०८२
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८३ को लागि विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने भएको छ । केन्द्रले एक सूचना गर्दै शैक्षिक सत्र २०८३ को लागि विद्यार्थी भर्ना वैशाख १५ बाट र बैशाख २१ गतेबाट पठनपाठन सुरुगर्न निर्देशन दिएको हो।
केन्द्रले मिति २०८२ चैत २६ गते जारी गरेको निर्णयअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को पत्र र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गरिनेछ भने वैशाख २१ गतेबाट नियमित पठनपाठन सञ्चालन गर्नुपर्नेछ।
यसअघि मन्त्रिपरिषद्ले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गर्नुका साथै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गर्ने निर्णयसमेत गरिसकेको छ।
केन्द्रले विद्यालयहरूलाई वैशाख २ गतेदेखि नै शैक्षिक तयारीका कार्यहरू अघि बढाउन आग्रह गरेको छ। जसअनुसार वार्षिक कार्यतालिका निर्माण, शैक्षणिक योजना तयारी, विद्यालय सुधार योजना अद्यावधिक, शिक्षकहरूको पेशागत क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।
केन्द्रका निर्देशक डा. श्याम प्रसाद आचार्यद्वारा हस्ताक्षरित पत्रमा स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आवश्यक सहजीकरण र समन्वय गर्नसमेत अनुरोध गरिएको छ।
