शुक्रवार, चैत्र २७ २०८२
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून सङ्काय, डीनको कार्यालयले शैक्षिक सत्र २०८२/०८३ का लागि तीन वर्षे स्नातक (एलएल.बी.) प्रथम वर्षमा भर्ना हुन चाहने विद्यार्थीका लागि प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ।
विश्वविद्यालयले एक सूचना जारी गर्दै मिति २०८२ चैत ३० गते सोमबारदेखि इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्। वार्षिक परीक्षा प्रणाली अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रममा देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा जम्मा ३,८०० सिट निर्धारण गरिएको छ।
उपलब्ध सिटमध्ये नेपाल ल क्याम्पस, काठमाडौंमा ६०० सिट रहेको छ भने पृथ्वीनारायण क्याम्पस, पोखरामा ३०० सिट र महेन्द्र बहुमुखी क्याम्पस, धरानमा ३०० सिट निर्धारण गरिएको छ। यसैगरी नेपालगञ्ज, राजविराज र बुटवलस्थित महेन्द्र तथा बुटवल बहुमुखी क्याम्पसहरूमा पनि जनही ३०० सिट कायम गरिएको छ।
त्रि.वि. प्राज्ञिक परिषद्को निर्णयअनुसार हालै कार्यक्रम विस्तार गरिएका क्याम्पसहरूमा पनि समान रूपमा सिट विनियोजन गरिएको छ। पद्मकन्या बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, जनकपुर, विराटनगर तथा सुर्खेतका क्याम्पसहरूमा जनही ३०० सिट तोकिएको छ भने वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा २०० सिट निर्धारण गरिएको छ।
प्रवेश परीक्षासम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया तथा अन्य आवश्यक विवरण कानून सङ्कायको आधिकारिक वेबसाइट www.fol.edu.np वा सम्बन्धित सूचनापाटीमार्फत प्राप्त गर्न सकिने जनाइएको छ। कानून अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि यो अवसर महत्वपूर्ण मानिएको छ, जसले देशभरका प्रमुख क्याम्पसहरूमा अध्ययन गर्ने बाटो खुला गर्नेछ।
