बुधवार, बैशाख २ २०८३
काठमाडौं । शिक्षक सेवा आयोग ले शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गर्दै निर्धारित समयसीमाभित्र फाराम बुझाउन सबै शिक्षक, विद्यालय तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ। आयोगले शिक्षा मन्त्रालयको निर्णयअनुसार शैक्षिकसत्र २०८२ वैशाख १५ गतेदेखि सुरु हुने सन्दर्भमा शैक्षिक सत्र २०८२ को कार्यसम्पादन मूल्याङ्कन फाराम वैशाख १५ देखि जेठ १३ गतेभित्र अनिवार्य रूपमा दर्ता गरी पेश गर्नुपर्ने जनाएको हो।
शिक्षकहरूले निर्धारित ढाँचामा फाराम भरी विद्यालयको मूल दर्ता किताबमा दर्ता गरी प्रधानाध्यापकसमक्ष बुझाउनुपर्ने सूचनामा उल्लेख छ। तोकिएको मिति बाहिर दर्ता भएका फाराममाथि कुनै कारबाही नहुने आयोगले स्पष्ट पारेको छ।
आयोगले फाराम भर्दा निर्देशनअनुसार सबै विवरण स्पष्ट रूपमा उल्लेख गर्न, अनिवार्य हस्ताक्षर तथा मिति राख्न, र सम्बन्धित प्रमाणहरू संलग्न गर्न आग्रह गरेको छ। साथै, फाराम बुझाएको निस्सा अनिवार्य रूपमा लिन र विद्यालयले समेत निस्सा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
तहअनुसार फरक रङका फाराम प्रयोग गर्नुपर्ने (प्राथमिक–निलो, निम्न माध्यमिक–हरियो, माध्यमिक–पहेंलो) तथा एउटै A4 साइजको फाराम मात्र प्रयोग गर्नुपर्ने प्रावधान पनि दोहोर्याइएको छ। प्रधानाध्यापकलाई फारामको विवरण पूर्ण भए/नभएको सुनिश्चित गर्न, समयमै सुपरीवेक्षण गरी सम्बन्धित निकायमा पठाउन तथा सबै फाराम सिलबन्दी गरी स्थानीय तहमा बुझाउन निर्देशन दिइएको छ। त्यस्तै, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइ लाई समेत समन्वय, सहजीकरण र समयमै मूल्याङ्कन प्रक्रिया सम्पन्न गर्न जिम्मेवारी तोकिएको छ।
आयोगले कार्यसम्पादन मूल्याङ्कन प्रक्रियामा देखिने समस्या समाधानका लागि आफ्नो वेबसाइटमा उपलब्ध सहजीकरण पुस्तिका अध्ययन गरी सोहीअनुसार कार्य गर्न पनि आग्रह गरेको छ। यस व्यवस्थाले शिक्षक मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास लिइएको छ।


