Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविमा अध्ययन बिदा दुरुपयोग, झन्डै २ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति

त्रिविमा अध्ययन बिदा दुरुपयोग, झन्डै २ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति

  • 345
    SHARES

  • त्रिविमा अध्ययन बिदा दुरुपयोग, झन्डै २ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदा दुरुपयोग प्रकरणबाट झन्डै २ अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राज्ञिक क्षति भएको पाइएको छ। विश्वविद्यालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनअनुसार सयौं प्राध्यापकले नियमविपरीत बिदा उपयोग गर्दा यस्तो क्षति भएको निष्कर्ष निकालिएको हो।

    त्रिविको नियमअनुसार अधिकतम ५ वर्षसम्म तलबसहित अध्ययन बिदा पाउने व्यवस्था भए पनि धेरै प्राध्यापक विदेश गएर नफर्किएको पाइएको छ। समितिका अनुसार ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन्। तीमध्ये १९१ जना अध्ययन सकेर पनि सेवामा नफर्किएको र २०७ जनाले अध्ययन नै पूरा नगरेको उल्लेख गरिएको छ।

    अध्ययन बिदामा गएका स्थायी शिक्षकको सट्टा करार तथा आंशिक शिक्षक राख्नुपर्दा विश्वविद्यालयमाथि थप आर्थिक भार परेको समितिको ठहर छ। एक शिक्षकको वार्षिक तलब–भत्ता झन्डै १० लाख रुपैयाँ मान्दा ५ वर्षको अवधिमा कुल दुरुपयोग रकम करिब २ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ।

    यसैबीच, त्रिविले दुरुपयोगमा संलग्न प्राध्यापकहरूलाई १० प्रतिशत ब्याजसहित रकम फिर्ता गर्न निर्देशन दिएको छ। हालसम्म २० जना प्राध्यापकबाट करिब ६ करोड ५० लाख रुपैयाँ फिर्ता भइसकेको छ भने ५० भन्दा बढी प्राध्यापक रकम फिर्ता प्रक्रियामा रहेका छन्।

    समितिका अनुसार प्रत्येक प्राध्यापकले १० लाखदेखि ५० लाख रुपैयाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ। स्वेच्छाले रकम नबुझाउनेलाई दोस्रो चरणमा कानुनी कारबाही अघि बढाइने र आवश्यक परे नामसमेत सार्वजनिक गरिने विश्वविद्यालयले चेतावनी दिएको छ।

    प्राध्यापकहरूको अनुपस्थितिका कारण शिक्षण–सिकाइमा समेत नकारात्मक प्रभाव परेको भन्दै विश्वविद्यालयले आगामी दिनमा अध्ययन बिदा व्यवस्थापनलाई थप कडाइका साथ लागू गर्ने जनाएको छ।

    images
    आइतवार, बैशाख ६ २०८३०८:०१:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार