शनिवार, बैशाख १२ २०८३
काठमाडौँ, वैशाख ११ - नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिले ओखलढुङ्गाको खिजिदेम्बा-२ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरमाथि भएको दुर्व्यवहारको गम्भीर ध्यानाकर्षण गराएको छ।
महासङ्घका अनुसार २०८२ सालको आम निर्वाचनमा ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले वैशाख १० गते विद्यालय हाताभित्रै प्रवेश गरी प्रधानाध्यापकमाथि धम्कीपूर्ण र अपमानजनक व्यवहार गरेको आरोप छ।
महासङ्घले यस घटनालाई जनप्रतिनिधिको मर्यादा विपरीत तथा शैक्षिक क्षेत्रको गरिमामाथिको कठोर प्रहार भन्दै कडा शब्दमा निन्दा गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा जारी विज्ञप्तिमा हरेक पदाधिकारीको आफ्नो पदीय जिम्मेवारी र क्षेत्राधिकार रहने स्मरण गराइएको छ।
विज्ञप्तिमा भनिएको छ, "विद्यालय जस्तो पवित्र स्थलमा जनप्रतिनिधिबाटै भएको यस्तो अशोभनीय व्यवहारले जनविश्वास नै घाइते भएको छ।"
शिक्षा क्षेत्रको मर्यादा र स्वायत्ततालाई सम्मान गर्दै आगामी दिनमा यस्ता कार्य नदोहोरिने गरी सम्बन्धित पक्षलाई सचेत गराउन र दोषीमाथि कारबाही गर्न महासंघले माग गरेको छ। साथै शिक्षकको सुरक्षा सुनिश्चित हुनुपर्ने महासंघको भनाइ छ।
