आइतवार, बैशाख १३ २०८३
काठमाडौं। द सनसाइन स्कुल तथा कलेजले इसीडी तहमा अध्ययनरत बालबालिकाका अभिभावकलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

शनिवार काठमाडौँ महानगरपालिका वडा नम्बर १५, बिजेश्वरीस्थित विद्यालयका प्राचार्य बाबुराम गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा मोटिभेशनल वक्ता तथा इसीडी कन्सल्टेन्ट चाँदनी कर्मचारी र शिक्षिका सिर्जना महर्जनले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशिक्षक चाँदनी कर्मचारीले बालबालिकाको प्रारम्भिक विकासमा परिवारको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै घरमा सिर्जनात्मक, सुरक्षित र सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। साथै, सन्तुलित खानपिन, सकारात्मक व्यवहार र नियमित अभिभावकीय मार्गदर्शनले बालबालिकाको समग्र विकासमा टेवा पुग्ने धारणा राख्नुभयो।

कार्यक्रमका सभापति तथा विद्यालयका प्राचार्य बाबुराम गौतमले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित रहेको बताउनुभयो। अभिभावकहरूको विश्वास र साथले विद्यालयलाई अझ सुदृढ बनाएको उल्लेख गर्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी अभिभावक, शिक्षक तथा कर्मचारीका लागि विद्यालयले खाजा तथा खानाको व्यवस्था समेत गरेको थियो।
