Jul 27 2026 | २०८३, श्रावण ११ गते

आजदेखि कक्षा १२ परीक्षा सुरु : ४ लाख १८ हजार परीक्षार्थी

आजदेखि कक्षा १२ परीक्षा सुरु : ४ लाख १८ हजार परीक्षार्थी

  • 296
    SHARES

  • आजदेखि कक्षा १२ परीक्षा सुरु : ४ लाख १८ हजार परीक्षार्थी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सञ्चालन हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) आजदेखि देशभर एकसाथ सुरु भएको छ। परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ र वैशाख २७ गतेसम्म जारी रहनेछ।

    यस वर्ष देशभरका ५ हजार ३३९ विद्यालयका कुल ४ लाख १८ हजार ८ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्। तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थी रहेका छन्। जिल्लागत रूपमा सबैभन्दा बढी परीक्षार्थी काठमाडौं बाट ६४ हजार ३३८ रहेका छन् भने सबैभन्दा कम मनाङ बाट ३१ जना मात्र सहभागी हुने बोर्डले जनाएको छ।

    परीक्षा सञ्चालनका लागि नेपालभर १ हजार ४२० र जापान मा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। बोर्डले परीक्षा सम्पन्न भएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ।

    परीक्षालाई स्वच्छ, मर्यादित र विद्यार्थीमैत्री बनाउन बोर्डले विद्युत् आपूर्ति र इन्टरनेट सेवा प्रभावकारी बनाउन सरोकारवालासँग आग्रह गरेको छ। साथै, कडा अनुशासन कायम गर्न केन्द्राध्यक्षबाहेक अरू कसैलाई पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ।

    परीक्षार्थीले परीक्षा हलभित्र मोबाइल, स्मार्ट घडी वा अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरण लैजान पाउने छैनन्। यदि कसैले प्रतिबन्धित सामग्री साथमा राखेको पाइएमा सामग्री जफत गरिनुका साथै कानुनी कारबाही गरिनेछ। मोबाइल प्रयोग गरेको प्रमाणित भएमा सम्बन्धित परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिने बोर्डले स्पष्ट चेतावनी दिएको छ।

    अपांगता भएका तथा कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीका लागि विशेष व्यवस्था मिलाइएको छ। परीक्षा अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ। उपत्यकाभित्र तथा बाहिरका केन्द्रहरूमा नियमित निरीक्षण गरिने र कुनै केन्द्रमा मर्यादा उल्लंघन भएमा केन्द्राध्यक्ष वा निरीक्षकलाई तत्काल परिवर्तन गर्नेदेखि केन्द्र नै खारेज गर्न सक्ने अधिकार समितिलाई दिइएको छ।

    सरकार र बोर्डले यस वर्षको परीक्षालाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यसहित आवश्यक तयारी पूरा भएको जनाएको छ।

    images
    सोमवार, बैशाख १४ २०८३०८:०३:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार