Jul 27 2026 | २०८३, श्रावण ११ गते

अव्यवस्थित बस्तीका विद्यार्थीको स्थानान्तरण र परीक्षा व्यवस्थापनसम्म सहजीकरण गर्न केन्द्रको निर्देशन

अव्यवस्थित बस्तीका विद्यार्थीको स्थानान्तरण र परीक्षा व्यवस्थापनसम्म सहजीकरण गर्न केन्द्रको निर्देशन

  • 519
    SHARES

  • अव्यवस्थित बस्तीका विद्यार्थीको स्थानान्तरण र परीक्षा व्यवस्थापनसम्म सहजीकरण गर्न केन्द्रको निर्देशन

    भक्तपुर, सानोठिमी। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्ने विद्यार्थीहरूको पठनपाठनमा अवरोध नआओस् भन्ने उद्देश्यले स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिएको छ।

    केन्द्रको योजना अनुगमन शाखाबाट जारी पत्रअनुसार, सार्वजनिक तथा जोखिमयुक्त जग्गामा रहेका अव्यवस्थित बस्तीहरूको व्यवस्थापन तथा आवश्यकतानुसार स्थानान्तरण प्रक्रिया अघि बढाइरहेको सन्दर्भमा त्यहाँका विद्यार्थीहरू विद्यालय पहुँच, नियमित उपस्थिति तथा शैक्षिक सामग्रीबाट वञ्चित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

    निर्देशनमा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न आवश्यक समन्वय गर्न, स्थानान्तरण तथा शिक्षण सिकाइको निरन्तरतासम्बन्धी प्रगति विवरण केन्द्रमा पठाउन भनिएको छ। साथै, कक्षा १२ का परीक्षार्थीहरूलाई तोकिएको परीक्षा केन्द्रसम्म सुरक्षित आवतजावतको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

    त्यसैगरी, अव्यवस्थित बस्तीबाट प्रभावित विद्यालयहरूको अवस्थाको मूल्याङ्कन गरी आवश्यकताअनुसार विद्यालय समायोजन वा स्थानान्तरण गरी दिगो व्यवस्थापन गर्न तथा विद्यालय, अभिभावक र अन्य सरोकारवालाबीच समन्वय र सहकार्य सुनिश्चित गर्न निर्देशन दिइएको छ।

    केन्द्रले यी कार्यहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गर्दै कार्यान्वयनका क्रममा देखिने समस्या तथा सुझावहरू केन्द्रमा उपलब्ध गराउन समेत अनुरोध गरेको छ।

    FB_IMG_1777279650521.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार