सोमवार, बैशाख १४ २०८३
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहका शिक्षक उम्मेद्वारका लागि ‘तालिम प्राप्त’ मानिने विषयहरू स्पष्ट पारेको छ। शिक्षा ऐन, २०२८ र शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार अध्यापन अनुमतिपत्र र तालिम अनिवार्य हुने व्यवस्थाबीच विषयगत अन्योल बढेपछि आयोगले यस्तो निर्णय सार्वजनिक गरेको हो।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार कक्षा ११–१२ मा एकलपथीय शिक्षा लागू भएपछि ‘शिक्षा विषय’ कुनलाई मान्ने भन्नेमा द्विविधा देखिएको थियो। सोही सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रको सिफारिसका आधारमा आयोगले मिति २०८२ चैत १९ गते निर्णय गर्दै विषयहरू तोकेको जनाएको छ।
आयोगका अनुसार कक्षा ११ मा ‘बाल विकास र सिकाइ’, कक्षा १२ मा ‘शैक्षणिक विधि र मूल्याङ्कन’, तथा कक्षा ११ र १२ मा ‘मनोविज्ञान’ र ‘शिक्षा र विकास’ विषय अध्ययन गरेकालाई तालिम प्राप्त मानिनेछ।
यसैगरी, उल्लेखित विषयमध्ये कुनै एक वा एकभन्दा बढी विषय कक्षा ११ वा १२ वा दुवै कक्षामा गरी कम्तीमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर अध्ययन गरेको भए ‘तालिम प्राप्त’ मान्न सकिने आयोगले स्पष्ट पारेको छ।
यो निर्णयसँगै निम्नमाध्यमिक तहको शिक्षक बन्न चाहने कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि विषयगत अन्योल हट्ने अपेक्षा गरिएको छ।
यस्तो छ सूचना । 