शनिवार, बैशाख १९ २०८३
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लामो समयदेखि अव्यवस्थित बन्दै आएको शैक्षिक पात्रोलाई सुधार गर्ने लक्ष्यसहित परीक्षा सञ्चालनलाई तीव्र बनाएको छ। हाल विभिन्न तह र वर्षका रोकिएका तथा मौका परीक्षाहरू एकैसाथ सञ्चालन भइरहेका छन्।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार आगामी असारसम्म सबै बाँकी परीक्षा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसपछि साउन महिनादेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गरिने तयारी गरिएको छ।
हाल वैशाख महिनामै स्नातक तहअन्तर्गत बिएएलएलबी दोस्रो वर्ष, नियमित स्नातक दोस्रो वर्ष तथा वि.टेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्। विशेष रूपमा २०५३ सालदेखि रोकिँदै आएका मौका परीक्षासमेत यही अवधिमा सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको छ, जसले लामो समयदेखि पर्खाइमा रहेका विद्यार्थीलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।
त्रिविले जेठ महिनाका लागि तीन वर्षे तथा चार वर्षे स्नातक तहका पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष तथा वि.टेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरिसकेको छ। त्यस्तै, असार महिनामा सबै सङ्कायका चौथो वर्षका नियमित परीक्षा सञ्चालन गरिने जनाएको छ।
परीक्षा व्यवस्थापनमा सुधारसँगै नतिजा प्रकाशनमा पनि तीव्रता ल्याइएको छ। परीक्षा सम्पन्न भएको अधिकतम १०० दिनभित्रै नतिजा सार्वजनिक गर्ने अभ्यास सुरु गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
शैक्षिक प्रणालीलाई नियमित र व्यवस्थित बनाउने त्रिविको यो पहललाई विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। लामो समयदेखि ढिलाइ हुँदै आएको परीक्षा र नतिजा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ।