सोमवार, बैशाख २१ २०८३
काठमाडौँ, २१ वैशाख । नेपालको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार हुने संकेत देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि नर्वेका राजदूत डागनी म्योस बीच सोमबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुद क्षेत्रसँग सम्बन्धित सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो। विशेषगरी विद्यालय शिक्षा क्षेत्रमा नर्वेले पुर्याउँदै आएको सहयोगको निरन्तरता तथा आगामी साझेदारीका सम्भावनाहरूमा केन्द्रित रहेर कुराकानी भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा मन्त्री पोखरेलले समावेशिता, समता, आधारभूत सिकाइ (फन्डामेन्टल लर्निङ) तथा ‘क्लाइमेट स्मार्ट एजुकेशन सिस्टम’ जस्ता क्षेत्रमा नर्वे सरकारले पुर्याउँदै आएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नर्वेको शिक्षा प्रणालीको प्रशंसा गर्दै नेपालले त्यसबाट सिकेर आफ्ना नीतिगत र प्रविधिगत सुधार अघि बढाउन सक्ने धारणा राख्नुभयो।
त्यसैगरी, राजदूत म्योसले नेपाल सरकारका प्राथमिकताबारे आफू जानकार रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा सहकार्य अझै विस्तार गर्न नर्वे सरकार उत्सुक रहेको बताउनुभयो। उहाँले नेपालको विद्यालय शिक्षा सुधारमा निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
नेपाल र नर्वेबीचको यो सहकार्यले आगामी दिनमा शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, समावेशी पहुँच र नवप्रवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।