सोमवार, बैशाख २८ २०८३
काठमाडौँ । सरकारले शिक्षाका सबै तहका पाठ्यक्रमलाई समयसापेक्ष रूपमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले शिक्षा क्षेत्रमा सुधारका विभिन्न योजना अघि सारेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गरिने र निजी क्षेत्रबाट सञ्चालित शिक्षालाई सेवामुखी तथा गुणस्तरीय बनाउन स्वस्थ नियमन गरिने बताएका छन् ।
सरकारले विद्यालय तहमा दिवा खाजा र पोसाकको सहज वितरणलाई निरन्तरता दिँदै शिक्षालाई रोजगारमुखी बनाउने नीति लिएको जनाएको छ । साथै उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गरिने तथा १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट विस्तार गरी सिकाइ प्रविधिको विकास गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी विपन्न, सीमान्तकृत, दलित तथा आदिवासी समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ ।