मंगलवार, बैशाख २९ २०८३
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले शैक्षिक सत्र २०८३ देखि विद्यालयहरूमा हप्तामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
केन्द्रका निर्देशक डा. श्याम प्रसाद आचार्य द्वारा जारी पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को २०८३ वैशाख २८ गतेको निर्णयअनुसार देशभरका शैक्षिक संस्थामा दुई दिने बिदा लागू गरिने भएको हो ।
केन्द्रले बिदा कार्यान्वयन गर्दा स्वीकृत पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलाएर पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ । पत्रअनुसार प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गरिनेछ भने सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । यसैगरी, हिउँदे तथा वर्षे बिदाको अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिने उल्लेख गरिएको छ । पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न सकिने तथा अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
केन्द्रले शुक्रबार परियोजना तथा प्रयोगात्मक कार्यमा आधारित सिकाइ सञ्चालन गर्न पनि विद्यालयलाई सुझाव दिएको छ । समुदाय, परिवार, सूचना प्रविधि तथा बहुविषयक क्रियाकलापमा आधारित परियोजना कार्य विद्यार्थीलाई दिने र आवश्यकताअनुसार प्रस्तुति गराउने व्यवस्था गर्न भनिएको छ ।
परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्र को वेबसाइटमा रहेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ प्रयोग गर्न सकिने पनि पत्रमा उल्लेख छ ।
