बिहिवार, बैशाख ३१ २०८३
कैलाली, ३१ वैशाख । सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार छनोट प्रक्रिया अघि बढाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्राडा जयराज अवस्थीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । समितिका सदस्यमा प्राडा लोचन श्रेष्ठ र प्राडा दिनेश लम्साल रहनुभएको छ ।
विश्वविद्यालयका अनुसार उक्त समिति सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन २०८२ बमोजिम गठन गरिएको हो । प्राडा अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुनुहुन्छ ।
बैठकले विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट दुई महिलासहित विशिष्ट व्यक्तित्वहरूलाई समेट्दै छ जना विश्वविद्यालय सभा सदस्य (सिनेटर) पनि मनोनयन गरेको जनाएको छ ।
यसैबीच, बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन गरेको छ ।