शुक्रवार, जेठ १ २०८३
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ। बोर्डको नियमित समूहबाट परीक्षा दिई अवर्गीकृत (Not Graded) भएका तथा कुनै एक वा एकभन्दा बढी विषयमा अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।
पूरक परीक्षा आगामी २०८३ असार १ गतेदेखि सञ्चालन हुने जनाइएको छ। परीक्षा आवेदन फाराम २०८३ जेठ १ गतेदेखि १५ गतेसम्म सम्बन्धित विद्यालयमार्फत भर्न सकिनेछ। बोर्डका अनुसार २०८२ मा परीक्षा आवेदन फाराम भरे पनि कुनै विषयको परीक्षामा सहभागी नभएका तथा परीक्षा रद्द भएका विद्यार्थीले भने पूरक परीक्षाको आवेदन दिन पाउने छैनन्।
त्यस्तै, ग्रेडवृद्धि समूहबाट परीक्षा दिई अवर्गीकृत वा अनुपस्थित भएका विद्यार्थी पनि पूरक परीक्षाका लागि अयोग्य हुने जनाइएको छ। पूरक परीक्षा नियमित समूहकै प्रवेशपत्र र सिम्बोल नम्बरबाट सञ्चालन गरिनेछ।
पूरक परीक्षाको आवेदन फाराम यस कार्यालयको Website: www.see.gov.np बाट डाउनलोड गर्न सकिने जनाएको छ। परीक्षा आवेदन शुल्क रु. ५०० तोकिएको छ।
विद्यालयहरूले विद्यार्थीबाट संकलित आवेदन फाराम २०८३ जेठ १६ गतेभित्र शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्नेछ भने सम्बन्धित एकाइले जेठ १८ गतेसम्म बोर्डको पोर्टलमा विवरण इन्ट्री गरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
