शुक्रवार, जेठ १ २०८३
बर्दिया। बारबर्दिया नगरपालिले सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ। पालिकाले यसका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा रु १ करोड २९ लाख ६५ हजार बजेट विनियोजन गरिएको जनाएको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार राहत, अस्थायी, नगर शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा सहयोगीलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिनेछ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सामुदायिक विद्यालय र सम्बन्धित शिक्षक–कर्मचारीले आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
सूचनामा विद्यालय (रोजगारदाता) ले विद्यालय व्यवस्थापन समितिको निर्णय र प्यानसहित सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनुपर्ने तथा विद्यालयमा कार्यरत सम्पूर्ण करारका कर्मचारीलाई पनि कोषमा आबद्ध गराउनुपर्ने उल्लेख छ।
त्यस्तै, शिक्षक तथा कर्मचारी (योगदानकर्ता) ले नागरिकता, श्रीमान/श्रीमती तथा बालबालिकाको फोटो, विवाहदर्ता, जन्मदर्ता लगायत आवश्यक कागजातसहित सूचिकृत हुनुपर्नेछ। साथै KYC अद्यावधिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। नगरपालिकाले सम्बन्धित सबै सामुदायिक विद्यालयलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया समयमै पूरा गर्न आग्रह गरेको छ।
