शुक्रवार, जेठ १ २०८३
भक्तपुर, जेठ १ । बुक क्लब भक्तपुरको आयोजनामा शुक्रबार ‘नयाँ पुस्ताको नजरमा– सय वर्षपछिको भक्तपुर’ विषयक पुस्तक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक महिनाको एक शुक्रबार नियमित रूपमा पुस्तकमाथि चर्चा–परिचर्चा गर्दै आएको क्लबले यसपटक चर्चित कृति ‘सय वर्षपछिको भक्तपुर’ लाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा सहभागी विद्यार्थी तथा युवाहरूले पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण पुस्तक अध्ययन संस्कृति कमजोर बन्दै गएको उल्लेख गर्दै पुस्तक पठनले समाज, इतिहास र भविष्य बुझ्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) द्वारा वि.सं. २०५९ मा पहिलोपटक प्रकाशित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक हालसम्म नेपाली भाषामा दुई र अङ्ग्रेजीमा एक गरी तीन संस्करण प्रकाशित भइसकेको जानकारी दिइएको थियो।
छलफलका क्रममा नयाँ पुस्ताले उक्त पुस्तकले सामाजिक रीतिरिवाज, जीवनशैली, शिक्षाको परिवर्तन तथा समयसँगै विकसित समाजको चित्रणमार्फत सय वर्षअघिको इतिहासलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताएका थिए। साथै, पुस्तकमा प्रस्तुत भक्तपुरको विकास मोडेल पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणका दृष्टिले नेपालभर अनुकरणीय बन्न सक्ने उनीहरूको धारणा थियो।
कार्यक्रममा सहभागीहरूले इतिहास र भविष्यबीचको सम्बन्ध बुझ्न यस्ता पुस्तक तथा अन्तरसंवाद कार्यक्रम प्रभावकारी हुने बताएका थिए। पुस्तकमार्फत नयाँ पुस्तामा अध्ययन संस्कृति, ऐतिहासिक चेतना र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सकिने विश्वास व्यक्त गरिएको थियो।
उक्त कार्यक्रम सञ्चालनका लागि गोर्खा ईको प्यानल ले प्रायोजन गरेको आयोजकले जनाएको छ।