शनिवार, जेठ २ २०८३
काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा आएपछि विद्यालय तहको पठनपाठन सञ्चालन र कार्यघण्टा व्यवस्थापनमा नयाँ व्यवस्था लागू गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले विद्यालय सञ्चालन हुने दिन र पठनपाठन अवधिलाई समायोजन गर्दै नयाँ व्यवस्थापन लागू गरेको जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू भएपछि विद्यालय तहमा पठनपाठन र कार्यघण्टा पुनः मिलान गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
यस परिवर्तनसँगै विद्यालय सञ्चालन हुने पाँच दिनभित्र निर्धारित पाठ्यक्रम पूरा गर्नुपर्ने भएकाले स्थानीय तह, शिक्षक, विद्यालय तथा सरोकारवालालाई कार्य व्यवस्थापनमा चुनौती थपिएको बताइएको छ । सोही आवश्यकतालाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वैशाख ११ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले गठन गरेको कार्यदलको सुझावका आधारमा संशोधित पाठ्यक्रम स्वीकृत गरिएको हो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार स्वीकृत पाठ्यक्रमअनुसार विद्यालय तहको कार्यघण्टा समायोजन गरी पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । नयाँ व्यवस्थाले दुई दिने सार्वजनिक बिदाको प्रभावलाई व्यवस्थापन गर्दै शैक्षिक गुणस्तर कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।