Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई उत्तरपुस्तिका परीक्षण: केन्द्रमै जाँच्ने परिपाटी र निष्पक्षताको प्रश्न

एसईई उत्तरपुस्तिका परीक्षण: केन्द्रमै जाँच्ने परिपाटी र निष्पक्षताको प्रश्न

  • 324
    SHARES

  • एसईई उत्तरपुस्तिका परीक्षण: केन्द्रमै जाँच्ने परिपाटी र निष्पक्षताको प्रश्न

    नेपालको विद्यालय शिक्षा प्रणालीमा माध्यमिक शिक्षा परीक्षा (SEE) लाई विद्यार्थीको शैक्षिक यात्राको एउटा महत्त्वपूर्ण खुड्किलो मानिन्छ।

    यस परीक्षाको विश्वसनीयता र निष्पक्षता कायम राख्न परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षणसम्मका प्रक्रियाहरू त्रुटिरहित र पूर्वाग्रहरहित हुन जरुरी छ। तर, पछिल्लो समय परीक्षा सञ्चालन भएकै केन्द्र भित्रै उत्तरपुस्तिका परीक्षण गर्ने प्रवृत्तिका कारण यसको निष्पक्षतामाथि गम्भीर आशंकाहरू उब्जिन थालेका छन्।

    परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षार्थीको पहिचान गोप्य राख्न कत्तिको सम्भव छ भन्ने मुख्य चुनौती हो। एउटै नगरपालिका भित्र कुन विद्यालयको उत्तरपुस्तिका कहाँ परीक्षण भइरहेको छ भन्ने कुरा शिक्षक वा विद्यालय प्रशासनलाई सहजै थाहा हुन सक्छ।

    जब परीक्षकले यो उत्तरपुस्तिका फलानो विद्यालयको वा फलानो विद्यार्थीको हो भन्ने अनुमान लगाउन सक्छन्, तब त्यहाँ सचेत वा अचेत रूपमा पूर्वाग्रह (Biasness) छिर्ने सम्भावना रहन्छ। आफ्नै क्षेत्रका वा परिचित विद्यार्थीप्रति फरक दृष्टिकोण राखेर नम्बर दिने प्रवृत्तिले वास्तविक जेहेन्दार विद्यार्थीमाथि अन्याय हुन सक्छ।

    गोरखाका ६ वटा विद्यालयका प्रधानाध्यापकहरूले राष्ट्रिय परीक्षा बोर्डलाई संयुक्त रूपमा बुझाएको "पुनः परीक्षण गराई पाऊँ" भन्ने विषयको निवेदन ले पनि यो पुष्टि गरिसकेको छ| वर्तमान समयमा विद्यालयहरूबीच विद्यार्थी आकर्षण गर्ने र शैक्षिक नतिजाको अहम् देखाउने तीव्र प्रतिस्पर्धा छ।

    कतिपय अवस्थामा एउटा विद्यालयका विद्यार्थीलाई प्रलोभनमा पारेर अर्को विद्यालयमा लैजाने जस्ता अस्वस्थ प्रतिष्पर्धाहरू पनि समाजमा देखिने गरेका छन्। यस्तो व्यावसायिक र प्रतिष्ठाको लडाइँ भएको वातावरणमा, छिमेकी वा प्रतिस्पर्धी विद्यालयको उत्तरपुस्तिका स्थानीय स्तरकै शिक्षकले जाँच्दा पूर्ण रूपमा न्यायपूर्ण र निष्पक्ष भयो होला भनेर विश्वास गर्न गाह्रो हुन्छ।

    सबै ठाउँमा वा सबै शिक्षकबाट नियतवश विभेद नहोला, तर प्रणालीले नै शंका गर्ने ठाउँ दिएपछि परीक्षाको गरिमामा आँच आउनु स्वाभाविक हो। वास्तविक मूल्यांकन र न्यायपूर्ण नतिजाका लागि उत्तरपुस्तिका परीक्षण प्रक्रिया पूर्ण रूपमा 'ब्लाइन्ड' (Blind Evaluation) हुनुपर्छ। अर्थात्, उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई कुन जिल्ला, कुन विद्यालय वा कुन विद्यार्थीको कपी हो भन्ने कुराको कुनै पनि संकेत थाहा हुनु हुँदैन।

    राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिकाहरूलाई कोडिङ गरेर अन्य दुर्गम वा फरक जिल्ला वा क्षेत्रमा पठाएर परीक्षण गराउने व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्छ। जबसम्म उत्तरपुस्तिका परीक्षणमा पूर्ण गोपनीयता र अभेद्य प्रणाली लागू हुँदैन, तबसम्म विद्यार्थीको वास्तविक क्षमताको कदर हुन सक्दैन।

    परीक्षा केन्द्र वा स्थानीय क्षेत्रमै कपी जाँच्ने हालको प्रवृत्तिलाई सुधार गरी प्रादेशिक वा राष्ट्रिय स्तरमा उत्तरपुस्तिका साटासाट गरेर परीक्षण गर्ने व्यवस्था मिलाउनु आजको आवश्यकता हो। तब मात्र विद्यार्थी, विद्यालय र समग्र शिक्षा प्रणालीप्रति सबैको विश्वास कायम रहनेछ र परीक्षा साँच्चिकै निष्पक्ष बन्नेछ।

    ✍🏻 Ambika Kandel : Teacher 

    images
    शनिवार, जेठ २ २०८३०९:२९:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार